बन्दीपुर केबलकारको साधारण सभा पुस ३० गते हुने
तनहुँ — बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा पुस ३० गते बुधबार हुने भएको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन बिहान १० बजेदेखि तनहुँस्थित बन्दीपुर परियोजना प्राङ्गणमा सभा आयोजना गर्ने निर्णय गरेको हो।

कम्पनीका अध्यक्ष रामचन्द्र शर्माका अनुसार सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, सोही आवको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरणहरू पारित गरिने छन्।
सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ। त्यस्तै, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन र सञ्चालक समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ।

























