घाँसिकुवा फराकचाैर कलेस्ती -पराषर मार्गमा ४० करोड लगानीमा सडक पिच तथा पुल निर्माण हुँदै

घाँसिकुवा फराकचाैर कलेस्ती -पराषर मार्गमा ४० करोड लगानीमा सडक पिच तथा पुल निर्माण हुँदै

तनहुँ । व्यास नगरपालिका –गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन पराषर मार्गको काम तीव्र गतिमा अघि बढिरहेको छ। विश्व बैंकको सहयोगमा ४० करोड ८३ लाख ३५ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको यस आयोजनाअन्तर्गत साढे १० किलोमिटर सडक पिच गर्ने कार्य अन्तिम तयारी चरणमा पुगेको छ।
घासिकुवा, बेलटारी, फराकचौर, अधेरी भञ्ज्याङ, पोखरेलफाँट हुँदै कलेस्ती सम्मको सडक खण्डमा सडक स्तरोन्नति तथा चौडाइ विस्तार, ढल तथा नाली निर्माण, बेस र सब–बेस तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। यस्तै आवश्यक स्थानमा सडक पिचको तयारीसमेत भइरहेको छ।
यसैबीच, घासिकुवा क्षेत्रमा निर्माणाधीन पक्की मोटर पुलको काम पनि तीव्र रूपमा अघि बढाइएको छ। पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा आवागमनमा हुने समस्या हट्ने र पराषर मार्ग पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास लिइएको छ। अहिले पुल निर्माणकाे काम अन्तिम चरणमा पुगेको र ढलानकाे काम सम्पन्न भइसकेको छ ।


व्यास नगरपालिकाका अनुसार पराषर मार्ग व्यास नगरपालिकाको महत्वपूर्ण यातायात पूर्वाधार हो। आयोजना सम्पन्न भएपछि ४ वटा वडा ७ , ९ , १० र ११ का जनता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सडक र पुल निर्माण पूरा भएपछि स्थानीय बासिन्दा, विद्यार्थी, किसान तथा व्यवसायीहरूलाई आवागमनमा उल्लेखनीय सहजता पुग्ने अपेक्षा गरिएको छ।
पराषर मार्ग निर्माण सम्पन्न भएसँगै व्यास नगरपालिकाका विभिन्न वडाहरू आपसमा जोडिनुका साथै पर्यटन प्रवर्द्धन, कृषि उत्पादनको बजार पहुँच र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने नगरपालिकाले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page