भानु नगरपालिकाको १७औं नगर सभा सम्पन्न
तनहुँ । भानु नगरपालिका नगरकार्यपालिकाको कार्यालयको १७औं नगर सभा सम्पन्न भएको छ। नेपालको राष्ट्रिय गानको सम्मान, राष्ट्रियता, स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय, समानता र समृद्धिका लागि जीवन आहुति दिने शहीदप्रति मौन धारण गर्दै नगर सभाको शुभारम्भ गरिएको थियो।
नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा उप–प्रमुख उमा गोतामेले नगरपालिकाको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सभा सञ्चालन गरेकी थिइन्। उप–प्रमुख गोतामेले विभिन्न क्षेत्रका उपलब्धि, समस्या, सुधार गर्नुपर्ने अवस्था र भावी योजनाबारे जानकारी गराइन्।
चालु आर्थिक वर्षमा भानु नगरपालिकाले ३ करोड ७० लाख ५० हजार रुपैयाँ राजश्व संकलनको अनुमान गरेकोमा २०८२ पौष २८ गतेसम्म १ करोड ३९ लाख ६१ हजार ४ सय ५३ रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको तुलनामा ३६ लाख ५८ हजार २ सय ३४ रुपैयाँले राजश्व वृद्धि भएको जनाइएको छ।
संघीय सरकारबाट प्राप्त हुने ६२ करोड ६४ लाख अनुदानमध्ये हालसम्म ३४ करोड ५५ लाख २९ हजार १ सय ७९ रुपैयाँ (५५.१६ प्रतिशत) प्राप्त भएको छ भने गण्डकी प्रदेश सरकारबाट ९८ लाख ६६ हजार ५ सय रुपैयाँमध्ये करिब ३४.५ प्रतिशत र राजश्व बाँडफाँडतर्फ ५ करोड ३७ लाख ७३ हजार ९ सय ८८ रुपैयाँमध्ये करिब ३८.९ प्रतिशत प्राप्त भएको छ।
पौष २८ गतेसम्म चालु तर्फ ३५.३८ प्रतिशत र पूँजीगत तर्फ ६.८७ प्रतिशत खर्च भएको जानकारी दिइएको छ। नगर प्रमुख त्रिपाठीले चालु खर्चमा मितव्ययिता, पारदर्शिता र पूँजीगत खर्चमा समयमै योजना सम्पन्न गर्न सम्बन्धित शाखा, जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिए।

नगर सभामा पहिलोपटक विषयगत समितिका संयोजक (वडा अध्यक्षहरू) ले आ–आफ्नो समितिको प्रगति, उपलब्धि, समस्या र चुनौतीबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। भौतिक पूर्वाधार, आर्थिक विकास, सुशासन, विधान तथा सामाजिक विकास समितिका प्रतिवेदन सभामा पेश गरिएको थियो।
सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक र विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
नगर सभा सदस्यहरूले शिक्षा समिति पूर्णता, उपभोक्ता समितिको बैंक खाता समस्या, राजश्व संकलनमा कडाइ, अधुरा खानेपानी आयोजना, कृषकलाई राहत, चालु खर्चको पारदर्शिता, नगर प्रहरीको जिम्मेवारी, नगर केन्द्रको टुंगो, सामुदायिक स्वास्थ्य केन्द्र स्थापना लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।
अन्त्यमा सभामा पेश भएका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गर्दै नगर प्रमुख त्रिपाठीले १७औं नगर सभाको समापन गरेका थिए।

























