कांग्रेसको टिकट टुंगो लाग्दै , तनहुँ–१ मा श्याम मौरती फ्रन्टलाइनमा
तनहुँ — नेपाली कांग्रेसले आजै उम्मेदवारको टिकट वितरण गर्ने तयारी गरिरहेका बेला तनहुँ क्षेत्र नं १ मा श्याम मौरती सबैभन्दा बलिया दावेदारका रूपमा अघि आएका छन्। अन्य राजनीतिक दलहरूले आफ्ना उम्मेदवार टुंग्याइसकेको अवस्थामा कांग्रेसभित्र अन्तिम घडीको निर्णयले राजनीतिक तापक्रम चर्किएको छ।
कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति मौरती दलित समुदायबाट उदाएका प्रभावशाली युवा नेता हुन्। संगठन, संघर्ष र निरन्तर सक्रियताका कारण उनी क्षेत्रका दलित तथा युवा मतदातामाझ बलियो भोट बैंक निर्माण गर्न सफल भएका छन्। यही आधारमा उनी ‘जित्ने उम्मेदवार’ का रूपमा नेतृत्व तहको ध्यानमा परेका छन्।
पीडाभन्दा पार्टी अगाडि राख्ने नेतृत्व
विशेष महाधिवेशनको संवेदनशील समयमा बुवाको निधनका कारण गहिरो व्यक्तिगत पीडामा रहेका मौरती किरिया पुत्रीको अवस्थामा थिए। तर सो अवस्थामै पनि उनले पार्टी संगठनलाई प्राथमिकता दिए। क्षेत्रीय सभापतिको हैसियतमा औपचारिक विज्ञप्ति जारी गर्दै नेता–कार्यकर्तालाई एकताबद्ध बनाएका थिए।
उनको यो समर्पणलाई कांग्रेसभित्र राजनीतिक प्रतिबद्धताको दुर्लभ उदाहरणका रूपमा हेरिएको छ।
किरिया सकेर काठमाडौं : निर्णायक उपस्थितिको सन्देश
महाधिवेशनको अन्तिम दिन किरिया कर्म सकेर हतारहतार काठमाडौं पुग्नु मौरतीको राजनीतिक निष्ठाको अर्को प्रमाण बन्यो। शारीरिक र मानसिक रूपमा कमजोर अवस्थामा पनि निर्णायक क्षणमा उपस्थित हुनु कार्यकर्तामाझ अझै चर्चा हुने विषय बनेको छ।
संगठन शक्ति र प्रतिनिधि व्यवस्थापन
देउवा पक्ष बलियो मानिने तनहुँ जिल्लामा पनि मौरतीले गगन थापा नेतृत्वको टिमका पक्षमा उल्लेख्य संख्यामा महाधिवेशन प्रतिनिधि व्यवस्थापन गरी काठमाडौं पुर्याएका थिए। यसले उनको संगठन क्षमता, समन्वय शक्ति र प्रभावकारी नेतृत्वलाई पुष्टि गरेको छ।
दलित–युवा प्रतिनिधित्वको माग र जित्ने उम्मेदवारको समीकरण
विशेष महाधिवेशनपछि कांग्रेसभित्र दलित र युवालाई निर्णायक स्थान दिनुपर्ने दबाब बढेको छ। यही सन्दर्भमा दलित समुदायबाट आएका, युवामा पकड भएका र चुनाव जित्न सक्ने उम्मेदवारका रूपमा श्याम मौरती सबैभन्दा उपयुक्त देखिएको राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ।

मौरतीले नपाएमा गोविन्द भट्टराईको नाम पनि विकल्पका रूपमा छलफलमा रहे पनि आज हुने टिकट वितरणमा श्याम मौरती फ्रन्टलाइनमा रहेको कांग्रेस स्रोत बताउँछ।


























