तनहुँ उद्योग वाणिज्य संघमा दाजुभाइको दुर्लभ इतिहास : एउटै घरबाट दुई अध्यक्ष

तनहुँ उद्योग वाणिज्य संघको इतिहासमा एउटा रोचक र दुर्लभ संयोग दर्ज भएको छ। एउटै घरका दाजुभाइ संघको अध्यक्ष बन्ने रेकर्ड कायम भएको छ, जसले संघको नेतृत्व इतिहासमा नयाँ अध्याय थपेको छ।
यसअघि तेजकुमार मल्ल संघका आठौँ अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो। झण्डै एक दशकपछि उहाँकै भाइ इमकुमार मल्ल आज अठारौँ अध्यक्षका रूपमा पदस्थापित हुनुभएको छ। एउटै परिवारका दुई सदस्य फरक–फरक कार्यकालमा अध्यक्ष बन्नु संयोग मात्र हो कि निरन्तर योगदानको परिणाम ? यो प्रश्न अहिले उद्योगी–व्यवसायीबीच चर्चाको विषय बनेको छ।
स्थानीय उद्योग, व्यापार र व्यवसायिक हकहितका क्षेत्रमा मल्ल परिवारको निरन्तर सक्रियताले यो उपलब्धि सम्भव भएको बताइन्छ। आजको पदस्थापनासँगै अध्यक्ष इमकुमार मल्लको जन्मदिन पनि परेकाले समारोहमा केक काटेर जन्मदिनसमेत मनाइएको थियो, जसले कार्यक्रमलाई अझै भावनात्मक र स्मरणीय बनायो।

दाजुले सम्हालेको नेतृत्वको अनुभव र भाइले लिएको नयाँ जिम्मेवारी—के यसले तनहुँ उद्योग वाणिज्य संघलाई नयाँ दिशा दिन्छ ? आगामी दिनमा अध्यक्ष मल्लको कार्यशैली र प्राथमिकतामा सबैको चासो केन्द्रित भएको छ।

























