छाब्दी मन्दिरमा पूजा गर्दै स्वर्णिम वाग्लेको चुनावी अभियानको औपचारिक सुरुआत
तनहुँ–१ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका छन्। उनले तनहुँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको छाब्दी मन्दिरमा पूजा–अर्चना गर्दै चुनावी यात्राको थालनी गरेका हुन्।
छाब्दी मन्दिरमा विधिपूर्वक पूजा गरेपछि वाग्लेले देशमा सुशासन, आर्थिक सुधार र उत्तरदायी राजनीतिको खाँचो रहेको बताए। उनले नेपाली जनता परिवर्तन चाहिरहेको उल्लेख गर्दै अबको स्पष्ट विकल्प रास्वपालाई बहुमतसहित शासनको जिम्मेवारी दिनु रहेको दाबी गरे।
“चुनावपछि फेरि पुरानै गणित दोहोरियो भने स्थिर सरकार सम्भव हुँदैन,” वाग्लेले भने, “गठबन्धनका नाममा हुने सत्ता–सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि सरकार फेर्ने घनचक्करमा फसाउँछ, जसको प्रत्यक्ष असर विकास, लगानी, रोजगारी र नागरिक सेवामा पर्छ।”
आफू अर्थशास्त्रीको रूपमा लामो समय नीति निर्माण र आर्थिक सुधारका क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै वाग्लेले त्यसलाई व्यवहारमा उतार्न राजनीति आवश्यक भएको बताए। उनले पुराना राजनीतिक अभ्यासभन्दा फरक ढंगले काम गर्ने र जनताको मुद्दालाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
वाग्लेले स्पष्ट एजेन्डा, सक्षम नेतृत्व र परिणाममुखी कार्ययोजनाका आधारमा प्रभावकारी शासन सम्भव हुने उल्लेख गर्दै यसपटक देशलाई अघि बढाउने अवसर दिन मतदातासँग आग्रह गरे।
पूजा कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। पार्टीका नेताहरूले स्वर्णिम वाग्ले उम्मेदवार बनेपछि तनहुँ–१ मा नयाँ राजनीतिक विकल्पप्रति जनआकर्षण बढेको दाबी गरेका छन्।
रास्वपाले यस उपनिर्वाचनलाई पुरानो राजनीतिक संस्कृतिविरुद्धको जनमतसंग्रहको रूपमा लिएको जनाएको छ। पार्टीका अनुसार वाग्लेको उम्मेदवारीले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक अवसरका विषयमा ठोस बहस अघि बढाउने अपेक्षा गरिएको छ।

तनहुँ–१ को उपनिर्वाचनलाई चासोका साथ हेरिएको छ भने विभिन्न राजनीतिक दलहरूले आ–आफ्नो तयारी तीव्र बनाइरहेका छन्। यस्तो अवस्थामा छाब्दी मन्दिरबाट सुरु गरिएको स्वर्णिम वाग्लेको अभियानले चुनावी माहोललाई थप रोचक बनाउने देखिएको छ।


























