तनहुँका हाइवे होटलमा हरियो स्टिकर अभियान, ६ वटा होटल स्तरीकरणमा समावेश

तनहुँका हाइवे होटलमा हरियो स्टिकर अभियान, ६ वटा होटल स्तरीकरणमा समावेश


तनहुँ । खाद्य स्वच्छताको आधारमा हाइवे क्षेत्रका होटल तथा रेष्टुरेन्टलाई वर्गीकरण गर्ने उद्देश्यसहित म्याग्दे गाउँपालिका क्षेत्रअन्तर्गत पृथ्वी राजमार्ग छेउमा सञ्चालित होटलहरूको अनुगमन तथा स्तरीकरण कार्यक्रम सञ्चालन गरिएको छ।
म्याग्दे गाउँपालिकाको समन्वय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको प्राविधिक सहयोगमा सम्पन्न अनुगमन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योती आचार्य, वडा नं. ०७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ,उद्योग शाखा प्रमुख प्रदीप न्यौपाने, खाद्य निरीक्षण अधिकारी अशोक गौतम, सन्तोष थापा ,म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारी, महासचिव राजीव श्रेष्ठ, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराई, प्रहरी चौकी थर्पुका प्रमुख केश बहादुर कुमाल लगायतको उपस्थिति रहेको थियो।
अनुगमनका क्रममा गुणादीदेखि अकलासम्मका पृथ्वी राजमार्ग छेउमा सञ्चालित २१ वटा होटल तथा रेष्टुरेन्टको निरीक्षण गरिएको थियो। तीमध्ये ६ वटा होटल खाद्य स्वच्छताको मापदण्ड पूरा गर्दै स्तरीकरणमा पर्न सफल भएका छन् भने १५ वटा होटललाई सुधारका लागि २० बुँदे अनुसूची पाँच टाँस गरिएको खाद्य निरीक्षण अधिकारी अशोक गौतमले जानकारी दिनुभयो ।
स्तरीकरणमा परेका होटलहरूमध्ये २ वटा होटलले सन्तोषजनक (पहेँलो स्टिकर) र ४ वटा होटलले मध्यम स्तर (हरियो एकतारा स्टिकर) प्राप्त गरेका छन्।
हरियो एकतारा स्टिकर प्राप्त गर्ने होटलहरूमा जोजोलपा हाइवे रेष्टुरेन्ट, सरिता रेष्टुरेन्ट, अकला हाइवे रेष्टुरेन्ट एण्ड लज, रविना रेष्टुरेन्ट एण्ड खाजा घर रहेका छन्। त्यसैगरी बाराही हाइवे रेष्टुरेन्ट (गुणादी) र होटल स्काइ इन (थर्पु) ले सन्तोषजनक पहेँलो स्टिकर प्राप्त गरेका छन्।
अनुगमनका क्रममा स्तरीकरणमा परेका होटलहरूमा प्रयोग हुने पानी तथा मदिरामा प्रयोग गरिने आइस क्युबको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक अनिता पौडेलले सर्विलेन्स नमुना संकलन गर्नुभएको थियो।
उक्त अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खाद्य स्वच्छता र उपभोक्ता स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।


खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योती आचार्यले स्तरवृद्धि गर्न चाहने होटल व्यवसायीका लागि कार्यालय सधैं खुला रहेको बताउँदै पालिकाले अपनत्व लिएको खण्डमा यस्तो कार्यक्रम दीगो र स्थायी हुने विश्वास व्यक्त गर्नुभयो। हाइवे क्षेत्रका होटलहरूको गुणस्तर सुधार, उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा सुरक्षित खाद्य संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हरियो स्टिकर अभियानलाई आगामी दिनमा थप विस्तार गरिने उहाँले जानकारी दिनुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page