लियो अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०२६ सम्पन्न

लियो अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०२६ सम्पन्न


दमौली । लियो क्लब अफ तनहुँको आयोजनामा व्यास नगरपालिका अन्तर्गत सञ्चालित कक्षा १२ (+2) सम्मका माध्यमिक विद्यालयहरूलाई समेटी लियो अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूमा सामान्य ज्ञानको अभिवृद्धि गर्नुका साथै शैक्षिक पाठ्यक्रम बाहेकका अतिरिक्त क्रियाकलापमार्फत बौद्धिक क्षमता, तार्किक सोच र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा दमौली माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने सत्यवती माध्यमिक विद्यालय द्वितीय, आदिकवि भानुभक्त माध्यमिक विद्यालय तृतीय र पराशर माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
कार्यक्रमलाई सफल बनाउन दिन–रात खटिएका लियो क्लब अफ तनहुँका सम्पूर्ण लियो सदस्यहरूलाई आयोजकले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। साथै कार्यक्रमका विभिन्न शीर्षकमा सहयोग तथा योगदान प्रदान गर्ने सम्पूर्ण प्रायोजकहरूलाई पनि आयोजक संस्थाले आभार प्रकट गरेको छ।
लियो क्लब अफ तनहुँका अध्यक्ष लियो रोबिन श्रेष्ठले प्रतियोगितामा सहभागिता जनाई कार्यक्रमलाई गरिमामय र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा, सेवा र नेतृत्व विकासको क्षेत्रमा क्लबको निरन्तर प्रयासले विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गर्नुभयो।


आगामी दिनहरूमा पनि यस्ता सशक्त, प्रेरणादायी तथा समाजोपयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने अपेक्षा आयोजकले व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page