गण्डकी प्रदेश सरकार र ऋषिङ्ग गाउँपालिकाबीच नवप्रवर्तन साझेदारी परियोजना सम्झौता
तनहुँ — गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र तनहुँको ऋषिङ्ग गाउँपालिकाबीच “नवप्रवर्तन साझेदारी परियोजना” कार्यान्वयनका लागि द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार ऋषिङ्ग गाउँपालिकामा “मौरी परियोजना (महाउद्योग रिसिङ)” सञ्चालन गरिने भएको छ।
माघ १४ गते सम्पन्न सम्झौतामा गण्डकी प्रदेश सरकारको तर्फबाट सचिव तथा प्रान्तीय कार्यक्रम निर्देशक कृष्णप्रसाद लम्साल र ऋषिङ्ग गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले हस्ताक्षर गरेका छन्।
उक्त परियोजना तनहुँ जिल्लाको ऋषिङ्ग गाउँपालिका वडा नम्बर ३, ४, ७ र ८ मा सञ्चालन हुनेछ। परियोजनाको अवधि २०८२ माघ १४ गतेदेखि २०८३ असोज ३० गतेसम्म तोकिएको छ।
परियोजनाको कुल लागत ६३ लाख ५० हजार रुपैयाँ रहेको छ। जसअन्तर्गत गण्डकी प्रदेश सरकारबाट ४४ लाख ४५ हजार रुपैयाँ र ऋषिङ्ग गाउँपालिकाबाट १९ लाख ५ हजार रुपैयाँ लागत साझेदारी गरिनेछ।
यस परियोजनाबाट मौरीपालन तथा मह उत्पादनमार्फत स्थानीय आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। परियोजनाबाट ६१ महिला र ६३ पुरुष गरी उल्लेखनीय संख्यामा स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ। लाभान्वितमध्ये दलित, आदिवासी/जनजाति लगायत विभिन्न समुदाय समेटिएका छन्।
सम्झौता अनुसार परियोजनाको कार्यान्वयन, अनुगमन, वित्तीय पारदर्शिता, सार्वजनिक सुनुवाइ तथा अन्तिम लेखा परीक्षण स्थानीय तहले सुनिश्चित गर्नुपर्नेछ। प्रदेश सरकारबाट नियमित अनुगमन, प्राविधिक सहयोग तथा मूल्यांकन गरिने व्यवस्था गरिएको छ।
परियोजना सम्पन्न भएपछि यसको सञ्चालन, मर्मत सम्भार र दिगोपनको सम्पूर्ण जिम्मेवारी ऋषिङ्ग गाउँपालिकाकै हुने सम्झौतामा उल्लेख छ।

स्थानीय सुशासन, सेवा प्रवाह र आर्थिक विकासमा नवप्रवर्तनमार्फत सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको यस परियोजनाले ऋषिङ्ग गाउँपालिकाको स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताए ।


























