नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँको निधन
दमौली, २१ माघ । नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँको निधन भएको छ।
घरमै अचेत अवस्थामा फेला परेपछि उहाँलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका थिए। गम्भीर अवस्थामा उपचाररत रहनुभएका मियाँको निधन भएको हो।
मियाँको स्वास्थ्य लाभको कामनासहित सञ्चार क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूले चासो व्यक्त गरेका थिए। यसैक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, पूर्व अध्यक्ष डम्बर अधिकारीलगायत पत्रकारहरूको टोली अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो।
स्वर्गीय मियाँको निधनले तनहुँको पत्रकारिता क्षेत्र तथा नेपाल प्रेस युनियनलाई अपूरणीय क्षति पुगेको छ।


























