तनहुँ–१ का युवा उम्मेदवार मन्जिल रानाको ‘भविष्यको पलायन’ बहस

तनहुँ–१ का युवा उम्मेदवार मन्जिल रानाको ‘भविष्यको पलायन’ बहस

दमौली, तनहुँ — तनहुँ–१ बाट उम्मेदवारी दिएका युवा नेता मन्जिल राना ले वैदेशिक पलायनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउँदै ‘भविष्यको पलायन’ रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘उज्यालो नेपाल’ पार्टीमा आबद्ध रानाले सार्वजनिक कार्यक्रममा बोल्दै नेपालले “दुई किसिमका सन्तान हुर्काइरहेको” टिप्पणी गरे।
उनका अनुसार सार्वजनिक विद्यालयबाट अध्ययन पूरा गरेका धेरै युवाहरू आर्थिक बाध्यताले खाडी मुलुकतर्फ श्रम बेच्न बाध्य छन् भने बोर्डिङ शिक्षाबाट निस्किएका युवाहरू युरोप वा अस्ट्रेलियातर्फ सीप बेच्न गइरहेका छन्। “दुवैले बेच्ने भनेको आफ्नै युवावस्था हो,” उनले भने, “गाउँ खाली हुँदैछन्, चाडपर्व फिका हुँदैछन्, बाबुआमाको आँखामा प्रतीक्षा मात्र बाँकी छ।”
रानाले यस अवस्थालाई केवल ‘ब्रेन ड्रेन’को रूपमा मात्र नहेर्न आग्रह गर्दै यसलाई “देशको भविष्यको पलायन”को रूपमा व्याख्या गरे। उनका अनुसार देशभित्र रोजगारी र उद्यमको वातावरण सृजना नगरेसम्म पलायन रोक्न सम्भव छैन।

रोजगारी र उद्यम प्रवर्द्धन प्राथमिकता
रानाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन्। उनले कृषि, साना तथा मझौला उद्योग र सीप–आधारित तालिमलाई प्राथमिकतामा राख्ने बताए। “विदेश जानु बाध्यता होइन, विकल्प हुनुपर्छ,” उनले भने, “हामी विदेश जाने पुस्ता होइन, नेपालमै बाँच्ने र बदल्ने पुस्ता बन्न चाहन्छौं।”
उनको चुनावी प्रतिवद्धतामा सहुलियत ऋणमार्फत युवा उद्यमशीलता प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, सीपअनुसारको रोजगारी मिलान तथा फर्किएका युवाको अनुभवलाई उपयोग गर्ने कार्यक्रम समेटिएको बताइएको छ।
तनहुँ–१ मा बहसको विषय
तनहुँ–१ भित्रका ग्रामीण बस्तीहरूबाट वैदेशिक रोजगारीतर्फ जाने क्रम तीव्र बन्दै गएको स्थानीयहरू बताउँछन्। खेतीयोग्य जमिन बाँझो बढ्दै जानु, उत्पादनको उचित मूल्य नपाइनु र सीपअनुसारको अवसर अभावले युवाहरू बाहिरिन बाध्य भएको उनीहरूको भनाइ छ।


रानाको अभिव्यक्तिपछि जिल्लामा युवाशक्ति, रोजगारी र ग्रामीण पुनर्जागरणबारे बहस तीव्र बनेको छ। केही मतदाताले यसलाई समयसापेक्ष मुद्दा भन्दै समर्थन जनाएका छन् भने केहीले कार्यान्वयनका ठोस आधार र स्रोत सुनिश्चितताबारे स्पष्टता मागेका छन्।
आगामी निर्वाचनले रानाको ‘भविष्यको पलायन’ रोक्ने एजेन्डालाई मतदाताले कत्तिको साथ दिन्छन् भन्ने निर्धारण गर्नेछ। तर यसपटक तनहुँ–१ मा युवाको भविष्य र देशमै अवसर सृजनाको मुद्दा चुनावी केन्द्रबिन्दु बनेको देखिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page