घरदैलोमा व्यस्त स्वर्णिम, समृद्ध तनहुँको प्रतिवद्धता !
दमौली, तनहुँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले यतिबेला घरदैलो अभियानमा व्यस्त छन्। गाउँ–सहरका टोलटोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले “समृद्ध तनहुँ, सबल अर्थतन्त्र” को प्रतिवद्धता दोहोर्याएका छन्।
घरदैलोका क्रममा उनले पूर्वाधार र कनेक्टिभिटीलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। मुग्लिन–पोखरा सडक र पृथ्वी राजमार्ग स्तरोन्नतिसँगै ग्रामीण सडक, सुरक्षित पुल र डिजिटल पूर्वाधार विस्तारमार्फत तनहुँलाई राष्ट्रिय आर्थिक सञ्जालसँग थप मजबुत रूपमा जोड्ने योजना उनले प्रस्तुत गरेका छन्। “सडक र प्रविधि बलियो भए लगानी र रोजगारी स्वतः बढ्छ,” उनले भने।
कृषि, पशुपालन र सिँचाइलाई ग्रामीण समृद्धिको आधार मान्दै डा. वाग्लेले आधुनिक सिँचाइ प्रणाली, व्यावसायिक दुग्ध तथा बाख्रा पालन, कृषि सहकारी सुदृढीकरण र बजार पहुँच विस्तारमा जोड दिएका छन्। युवालाई गाउँमै अवसर सिर्जना गर्ने लक्ष्यसहित कृषि क्षेत्रलाई उत्पादनमुखी र बजारमुखी बनाउने उनको प्रतिबद्धता छ।
शिक्षा, स्वास्थ्य र खेलकुदमा गुणस्तरीय लगानीमार्फत मानव पूँजी विकास गर्ने योजना पनि उनले अघि सारेका छन्। प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, स्थानीय स्वास्थ्य संस्थाको स्तरोन्नति र खेलकुद पूर्वाधार विकासलाई उनले दीर्घकालीन समृद्धिको आधारका रूपमा प्रस्तुत गरेका छन्।
निजी क्षेत्रसँग सहकार्य गर्दै साना तथा घरेलु उद्योग, पर्यटन र उद्यमशीलता प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने उनको योजना छ। विशेषगरी बन्दीपुर गाउँपालिका लगायतका क्षेत्रलाई पर्यटन हबका रूपमा विकास गरी स्थानीय आय बढाउने उनले बताएका छन्। ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणसँगै आर्थिक गतिविधिसँग जोडेर राष्ट्रिय एकता सुदृढ गर्ने धारणा पनि उनले व्यक्त गरेका छन्।
योजनाबद्ध शहरी विकास, स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन र हरित क्षेत्र विस्तारमार्फत जीवनस्तर उकास्ने प्रतिबद्धता जनाउँदै उनले प्रवासी नेपालीको सीप, अनुभव र लगानीलाई जिल्लाको विकासमा जोड्ने बताए।

घरदैलोका क्रममा स्थानीयले रोजगारी, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकता दिन आग्रह गरेका छन्। डा. वाग्लेले आफू अर्थतन्त्रको दीर्घ अनुभव बोकेको उम्मेदवार भएको उल्लेख गर्दै पारदर्शी, जवाफदेही र परिणाममुखी नेतृत्व दिने प्रतिबद्धता व्यक्त गरेका छन्। तनहुँ १ मा उनको अभियानले चुनावी माहोल थप तातेको छ।


























