बन्दीपुरमा अपाङ्गता भएका व्यक्तिहरूलाई बिउ पुँजी वितरण

बन्दीपुरमा अपाङ्गता भएका व्यक्तिहरूलाई बिउ पुँजी वितरण

बन्दीपुर गाउँपालिका मा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरणका लागि बिउ पुँजी वितरण गरिएको छ।
समुदायमा आधारित पुनःस्थापना (CBR) कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको आर्थिक सशक्तिकरणका लागि बिउ पुँजी वितरण कार्यक्रम सम्पन्न गरिएको होकार्यक्रमअन्तर्गत बन्दीपुर गाउँपालिकाका ६ वटै वडाबाट एक/एक जना गरी जम्मा ६ जना लाभग्राहीलाई प्रति व्यक्ति नगद रु १० हजारका दरले बिउ पुँजी प्रदान गरिएको थियो।बिउ पुँजी प्राप्त गर्ने लाभग्राहीहरूमा बन्दीपुर गाउँपालिका वडा नं. १ का अभिषेक खड्का, वडा नं. २ का डेबु कार्की, वडा नं. ३ का पहल सिंह नेपाली, वडा नं. ४ का हिरा बहादुर थापा, वडा नं. ५ का प्रेमबहादुर गुरुङ र वडा नं. ६ का सबिना थापा रहेका छन्।

उक्त कार्यक्रम सहृदय मञ्च तनहुँ को आयोजना तथा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको एकीकृत सेवा कार्यालय तनहुँको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रम सहृदय मञ्च तनहुँका अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा एकीकृत सेवा कार्यालय तनहुँका कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मी र बन्दीपुर गाउँपालिका का उपाध्यक्ष पञ्चमया गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद लामिछाने,वडा नं. १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, २ का वडा अध्यक्ष तिलक बहादुर कुँवर,३ का वडा अध्यक्ष परमेश्वर भट्टराई, ४ का वडा अध्यक्ष दान बहादुर थापा र वडा नं. ६ का वडा अध्यक्ष बलबहादुर थापा लगायत कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी बन्दीपुर गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कविता पौडेल, गाउँपालिकाका अपाङ्गता अधिकारकर्मी मदन पौडेल, अपाङ्गता समन्वय समिति रिसेडका सदस्य कृष्ण बहादुर थापा लगायत विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्ने वक्ताहरूले प्रदान गरिएको बिउ पुँजी सानो भए पनि यसलाई सदुपयोग गरी आयआर्जनमूलक कार्य सुरु गर्न सके अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज हुने, आत्मनिर्भरता बढ्ने तथा पारिवारिक बोझ कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। साथै उनीहरूले बिउ पुँजीलाई सही रूपमा उपयोग गरी साना व्यवसाय तथा आयआर्जनका गतिविधि विस्तार गर्न आग्रह गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page