रास्वपाका नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण सम्पन्न
ललितपुर, चैत्र ४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र ४ गते ललितपुरमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको संयुक्त उद्घाटन पार्टीका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले ले घण्टी बजाएर गर्नुभएको थियो। उद्घाटन सत्रमा उनीहरूले जनताबाट प्राप्त विश्वासलाई परिणाममुखी उपलब्धिमा रूपान्तरण गर्न सांसदहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए।
उपसभापति डा. वाग्लेले प्रभावकारी संसदीय अभ्यास, नीतिगत स्पष्टता र उत्तरदायित्वपूर्ण नेतृत्वमार्फत् जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिनुभयो। अर्का उपसभापति अर्यालले चुनावी अनुभवहरू साझा गर्दै सांसदहरूलाई जनतासँग नजिक रहेर काम गर्न आग्रह गर्नुभयो।
सहमहामन्त्री विपिनकुमार आचार्य द्वारा सञ्चालित कार्यक्रममा सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराउने लक्ष्य राखिएको थियो। कार्यक्रममा नेपालको संवैधानिक व्यवस्था, संघीय संसदको संरचना र कार्यप्रणाली, विधायन प्रक्रिया, संसदीय समितिको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शितासम्बन्धी विषयमा विस्तृत जानकारी दिइएको थियो।
पूर्वसचिव तथा विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा सहयोग पुर्याएको आयोजकले जनाएको छ। कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमले लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा पार्ने प्रभावबारे पनि विशेष प्रस्तुति राखिएको थियो।
कार्यक्रममा पुनः निर्वाचित सांसदहरूले आफ्नो अनुभव, चुनौती र सिकाइहरू प्रस्तुत गरेका थिए भने समूहगत छलफल र ब्रेनस्टोर्मिङमार्फत् विभिन्न रणनीतिक विषयमा विचार आदानप्रदान गरिएको थियो। साथै योग तथा ध्यानसहितको माइण्डफुलनेस अभ्यास पनि गराइएको थियो।
समापन सत्रमा पार्टी सभापति रवि लामिछाने ले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे स्पष्ट पार्दै सांसदहरूलाई अनुशासित, उत्तरदायी र परिणाममुखी राजनीति अभ्यास गर्न निर्देशन दिनुभयो। उहाँले जनताको विश्वासलाई कार्यसम्पादनमार्फत् प्रमाणित गर्नुपर्ने उल्लेख गर्दै संसदभित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
सभापति लामिछानेले मधेश र कर्णाली क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने, विश्वविद्यालय सुधार, उद्योग सञ्चालन, रोजगारी सिर्जना तथा सामाजिक न्यायका मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभयो। साथै “राइट टु रिकल” लागू गर्ने प्रतिबद्धता दोहोर्याउँदै मन्त्री चयनमा भनसुनभन्दा पनि योग्यता र क्षमतालाई आधार बनाइने स्पष्ट पार्नुभयो।
रास्वपाले यो अभिमुखीकरण कार्यक्रमले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण विकासमा सहयोग पुर्याउने विश्वास लिएको छ।


























