७ दिने अचार बनाउने तालिम आँबुखैरेनीमा सञ्चालन हुँदै
तनहुँ, आँबुखैरेनी — स्थानीयस्तरमा सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले आँबुखैरेनी गाउँपालिका–४, बेनिटरमा ७ दिने अचार बनाउने तालिम सञ्चालन भएको छ।
“सिप सिकौं आत्मनिर्भर बनौं” भन्ने नारासहित सञ्चालन हुने उक्त तालिम चैत ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने एकीकृत सेवा कार्यालय तनहुँले जनाएको छ।
एकीकृत सेवा कार्यालय, दमौली, तनहुँले सहयोग गरेको तालिमको आयोजना सार्थक मिलन नेपाल, आँबुखैरेनी–३ ले गरेको हो भने वडा नं. ४ कार्यालय, बेनिटरले समन्वय गरेको छ।

उक्त तालिममार्फत सहभागीहरूलाई अचार बनाउने सीप सिकाई स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। स्थानीय महिलाहरूलाई लक्षित गर्दै सञ्चालन भएको यस तालिमले ग्रामीण स्तरमा उद्यमशीलता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।



























