“वर्दी भित्रको पीडा: आदेश, आन्दोलन र आँसुबीचको प्रहरी जीवन”

“वर्दी भित्रको पीडा: आदेश, आन्दोलन र आँसुबीचको प्रहरी जीवन”

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको हलमा आज भएको कार्यक्रम प्रहरी जीवनको कठोर यथार्थ उजागर गर्ने साक्षी बन्यो।
गृहमन्त्री सुधन गुरुङको आगमनसँगै कार्यक्रम सुरु भएकाे थियो । निरीक्षण, प्रस्तुति र कार्ययोजनाको औपचारिक क्रम चलिरहँदा वातावरण सामान्य देखिन्थ्यो। तर जब मन्त्री मञ्चमा पुगे, उनको अभिव्यक्ति फरक थियो—औपचारिक भाषणभन्दा बाहिर, अनुभूति र यथार्थको मिश्रण।
“प्रहरीले अब केवल आदेश होइन, स्वाभिमान पनि पालना गर्नुपर्छ,” उनले दृढ स्वरमा भने।
उनले प्रहरीको दैनिक संघर्षको चित्रण गर्दै चिउरा र चाउचाउको भरमा रात काट्ने जवानहरूको कथा सम्झिए। “मेरो पार्टीको मान्छे भए पनि गल्ती गरेमा नछोड्नुस्,” उनले थपे, “मेरो ढोका तल्लो तहका प्रहरीका लागि सधैं खुला छ।”
उनको भनाइले प्रहरीलाई केवल सुरक्षा निकाय नभई सेवा, सहानुभूति र मानवियताको प्रतीक बनाउने संकेत गर्‍यो।
प्रहरीको ड्युटी घडीले होइन, घटनाले निर्धारण गर्छ।
घाम, पानी, चिसो, भोक, निद्रा—यी सबै शब्दहरू उनीहरूको कर्तव्यभन्दा साना हुन्छन्।रातको २ बजे फोन आयो भने उनी निस्कन्छन्।बाढी आयो भने अगाडि उभिन्छन्। महामारी आयो भने सडकमा देखिन्छन्। तर त्यही प्रहरीको थकान, पीडा र परिवारप्रतिको दूरी प्रायः अदृश्य रहन्छ।

प्रहरीको सबैभन्दा कठिन भूमिका आन्दोलनका बेला देखिन्छ। एकातिर सरकारको आदेश—स्थिति नियन्त्रण गर्न।अर्कोतिर जनता—आफ्नो आवाज बुलन्द गर्न। ढुंगा लाग्दा प्रहरी घाइते हुन्छ,तर त्यो समाचारको शीर्षक बन्दैन।बल प्रयोग गर्दा आलोचना हुन्छ,तर सहँदा मौनता हुन्छ।प्रहरी सधैं दोहोरो चेपुवामा पर्छ—आदेश र आक्रोशको बीचमा।

कार्यक्रमकै क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनको अवस्था प्रस्तुत गरिरहेका थिए। तथ्याङ्क, योजना र चुनौतीहरू क्रमशः राख्दै गर्दा उनी अचानक भावुक बने।
“मैले मेरो पुलिसलाई टिकाउन सकिनँ…”यो वाक्यसँगै उनको स्वर अवरुद्ध भयो। त्यो क्षण केवल व्यक्तिगत कमजोरी थिएन,त्यो एउटा संस्थागत पीडाको प्रतिविम्ब थियो। कार्यक्रम हल एकाएक सन्नाटामा डुब्यो। वर्दीभित्र लुकेको मानवीय संवेदना पहिलोपटक सार्वजनिक रूपमा देखिएको थियो। त्यही बेला गृहमन्त्री गुरुङ उठे।उनले ताली बजाउन सुरु गरे—समर्थन, सम्मान र स्वीकारोक्तिको प्रतीक।
उनको संकेतसँगै पुरै हल गुञ्जियो।
तर ताली रोकिएपछि फेरि सन्नाटा फर्कियो।
त्यो सन्नाटा एउटा प्रश्नजस्तै थियो—
के अब यो पीडा केवल सुन्नेमा सीमित रहने हो, कि समाधान पनि खोजिनेछ?

प्रहरी घाममा उभिन्छ—कसैले भन्दैन “कठै”।
प्रहरी रातभर जाग्छ—कसैले सोध्दैन “थाक्नुभएन?”
प्रहरी घाइते हुन्छ—उसको कथा हराउँछ। तर, गल्ती हुँदा—उनी सबैको नजरमा पर्छन्। यही हो प्रहरी जीवनको कठोर यथार्थ—कर्तव्य ठूलो, तर सहानुभूति सानो।

नक्सालको त्यो हलमा देखिएको आँसु, ताली र सन्नाटाले प्रहरी जीवनको गहिरो कथा बाहिर ल्यायो।
यो घटना केवल भावुक क्षण होइन—नीति, सुधार र संवेदनशीलताको आवश्यकता औंल्याउने संकेत हो। अब प्रश्न उठेको छ के वर्दीभित्रको मान्छेको आवाज राज्यले सुन्छ? कि त्यो आवाज फेरि सन्नाटामै हराउनेछ?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page