तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
दमौली, चैत १७ — तनहुँको देवघाट गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय देवघाटका अनुसार चैत १७ गते दिउँसो करिब २:३० बजे देवघाट गाउँपालिका–४ काफलडाँडा स्थित भित्री सडक खण्डमा नारायणघाटबाट सिङतानतर्फ जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार ट्याक्टर चालकले नियन्त्रण गुमाउँदा सवारी साधन सडकबाट करिब १५ मिटर तल खसेको थियो। दुर्घटनामा देवघाट–१ कोटा निवासी ३० वर्षीय चालक बिष्णु माझी घाइते भएका छन्। उनको मुख, नाक र छातीमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा सोही स्थानका बालक शिव बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























