आगलागीपीडित व्यवसायीलाई दमाैली बजार इकाईकाे सहयोग
व्यास नगरपालिका–२ स्थित मिनिमार्केटमा रहेका दुई व्यवसायमा चैत्र २ गते भएको आगलागीबाट पूर्ण क्षति भएपछि पीडितलाई सहयोग जुटाइएको छ।
तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाइ समितिका पूर्व कार्यसमिति सदस्य भरत पराजुलीले सञ्चालन गर्दै आएको अभिरा क्लोथेज होम र लाल बाबु अन्सारीद्वारा सञ्चालित सिस्ता टेलर्स आगलागीबाट पूर्णरूपमा नष्ट भएपछि सहयोग जुटाएर हस्तान्तरण गरिएको हाे ।
घटनापछि पीडित व्यवसायीको पुनर्स्थापनाका लागि तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाइ समितिको नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको थियो। सोही संकलित रकम आज एक कार्यक्रमका बीच चेकमार्फत हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा इकाई सभापति शेषराज श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष इमकुमार मल्ल, महासचिव सुरेश पुरी, इकाई उपसभापति नारायण मल्ल, इकाई सचिव सिमरन चन्द लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले विपद्को समयमा व्यवसायीहरूबीचको एकता र सहकार्यले पीडितलाई पुनः उभिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। साथै, आगामी दिनमा यस्ता घटनाबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि जोड दिइएको थियो।


























