भानुमा ४ दिने आँखा शिविर : १५०० जनाको परीक्षण, ११० जनाको मोतियाबिन्दु शल्यक्रिया

तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको चार दिने निःशुल्क आँखा शिविरमा १५०० भन्दा बढी नागरिकको आँखाको परीक्षण गरिएको छ भने ११० जनाको सफल मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गरिएको छ।
भानु नगरपालिका–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिएको शिविरमा शनिबारदेखि विभिन्न वडामा पुगेर सेवा प्रदान गरिएको थियो। वडा नं. १३ चन्द्रावती बजार, वडा नं. ९ बाइसजाँगर, वडा नं. १ सालबिस्ने र वडा नं. ३ खहरेमा समेत शिविर सञ्चालन गरी शल्यक्रिया आवश्यक परेका बिरामीलाई नारेश्वरटार ल्याएर चैत १६ गते अप्रेसन गरिएको हो।
शिविरमा नेत्र विशेषज्ञ डा. मारिया गौतमसहितको टोलीले बिरामीहरूको परीक्षण तथा शल्यक्रिया गरेको थियो। साथै ४१५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो। बिरामीका लागि आवश्यक औषधि, खाना र बसोबासको समेत निःशुल्क व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख ऐश्वर्य भट्टराईले जानकारी दिए।
भानु नगरपालिकाको कार्यालय, नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, नारायणगढ लायन्स क्लब, लायन्स क्लब अफ नारायणगढ तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भानु–२ नारेश्वरटारको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको कार्यक्रम संयोजक शान्तकुमार श्रेष्ठले बताए।
शिविर अवधिभर जेसीआई भानु बन्दिपुरले निःशुल्क खानेपानी वितरण गर्नुका साथै बिरामी दर्ता प्रक्रियामा सहजीकरण गरेको थियो।
उक्त शिविरबाट तनहुँसँगै छिमेकी जिल्ला लमजुङ र गोरखाका बासिन्दाले पनि सेवा लिएका थिए।
भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि विशेषज्ञ चिकित्सकसहितका यस्ता शिविर गाउँस्तरसम्म सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

आँखा रोग विशेषज्ञबाट घरदैलोमै उपचार सेवा पाउँदा स्थानीय तथा छिमेकी जिल्लाका नागरिकहरू खुशी हुँदै घर फर्किएका बताएका छन्।


























