सहिद लखन थापा र बुद्धसिंह रानाको शालिक अनावरण सहित भुँयार पूजा सम्पन्न
दमौली, तनहुँ — मगर समाज सुधार समिति, व्यास नगरपालिका–१ भादगाउँको आयोजनामा प्रथम सहिद लखन थापा तथा सहिद बुद्धसिंह रानाको शालिक अनावरण एवम् भुँयार पूजा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्याप्टेन बलराम राना उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने सहभागी रहेका थिए। त्यसैगरी, जिल्ला विकास समितिका पूर्व सभापति बलबहादुर आले, यमबहादुर आले, मनिराज थापा, टोल अध्यक्ष दीपक घिमिरे तथा क्याप्टेन खिलबहादुर थापालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस्तै, व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, आदिवासी जनजाति महासंघका अध्यक्ष सनम तामाङ, मगर संघका अध्यक्ष एचबी मगरलगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रम समाजका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन सचिव लिलबहादुर थापाले गरेका थिए भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष काशी रानाले गरेकी थिइन् ।
समारोहमा वक्ताहरूले सहिदहरूको योगदानको उच्च कदर गर्दै उनीहरूको बलिदानले राष्ट्रमा स्वतन्त्रता र अधिकारको स्थापना सम्भव भएको उल्लेख गरे। लामो समयदेखि राखिएको शालिक निर्माणको चाहना समुदायको साथ र सहयोगले पूरा भएको आयोजकले जनाएको छ।

उक्त अवसरमा सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भुँयार पूजा समेत सम्पन्न गरिएको थियो। कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

सहिद बुद्धसिंह राना र सहिद लखन थापाले राणा शासनविरुद्ध संघर्ष गर्दै देशमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याएका थिए। उनीहरूको सम्झनामा गरिएको शालिक अनावरणले भावी पुस्तालाई इतिहासप्रति सचेत बनाउने विश्वास व्यक्त गरिएको छ।
























