भिमादमा वैशाख २ गते मेखेँ संक्रान्ति मेला लाग्ने
चैत १९, भिमाद।
तनहुँको भिमादमा नयाँ वर्ष २०८३ को अवसर पारेर मेखेँ संक्रान्ति मेला–२०८३ आयोजना हुने भएको छ। वैशाख २ गते भिमाद रंगशाला परिसरमा सञ्चालन हुने उक्त मेला स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको सन्देश बोकेको महत्वपूर्ण उत्सवका रूपमा हेरिएको छ।
मौलिक कला–संस्कृतिको संरक्षण गर्ने मुख्य उद्देश्यसहित युवा क्लब भिमादको आयोजनामा हुन लागेको मेलामा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू समावेश गरिएका छन्। क्लबका अध्यक्ष ज्ञानबहादुर थापाका अनुसार मेलालाई यस वर्ष अझ आकर्षक र सहभागितामूलक बनाउने तयारी गरिएको छ।
मेलाको प्रमुख आकर्षणका रूपमा पुरुषतर्फ छेलो हान्ने प्रतियोगिता र महिलातर्फ डोरी तान्ने प्रतियोगिता रहनेछ। दुवै प्रतियोगितामा प्रथम हुनेलाई १० हजार रुपैयाँ र द्वितीय हुनेलाई ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।
यसैगरी मेलामा कौरा नृत्य, चुड्का, नौमती बाजा तथा स्थानीय झाँकीहरू प्रस्तुत गरिनेछन्। विभिन्न सांस्कृतिक समूहहरूको सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ। साथै, Bhim Soil Band को विशेष सांगीतिक प्रस्तुति पनि रहने कार्यक्रम संयोजक ईश्वर न्यौपानेले जानकारी दिएका छन्।
मेलामा स्थानीय स्तरमा उत्पादन गरिएका परिकार, हस्तकला सामग्री तथा अन्य व्यापारिक स्टलहरू समेत राखिनेछन्, जसले स्थानीय व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

आयोजकका अनुसार यस मेलाले भिमाद बजारको मौलिक पहिचान झल्काउनुका साथै नयाँ वर्षलाई उत्साहपूर्वक स्वागत गर्ने अवसर प्रदान गर्नेछ।
क्लबका सचिव सुनिल श्रेष्ठले भिमाद आसपासका क्षेत्र, जिल्ला भित्र तथा बाहिरबाट समेत सहभागी भई मेलालाई सफल बनाउन सबैलाई आग्रह गरेका छन्।


























