राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ आउँदै, ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्ने

राष्ट्रपति पौडेल आज गृह जिल्ला तनहुँ आउँदै, ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्ने


तनहुँ, वैशाख १४ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नै गृह जिल्ला तनहुँ आउनुहुने भएको छ। उहाँ भानु नगरपालिका–स्थित चुँदी रम्घामा निर्माण हुन लागेको बहुप्रतीक्षित ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्न आउन लाग्नुभएको हो।
राष्ट्रिय विभूति भानुभक्त आचार्य को जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित यो आयोजना सुरु हुन लागेको हो।
भानु नगरपालिकाका सूचना अधिकारी कृपाहरी लौडारीका अनुसार राष्ट्रपति पौडेलले आज बिहान १० बजे विशेष समारोहबीच उद्यानको जग बसाल्ने कार्यक्रम रहेको छ। राष्ट्रपति पौडेलकै परिकल्पना र पहलमा अघि बढेको यस राष्ट्रिय गौरवको आयोजनाका लागि पहिलो चरणमा सरकारले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ।


उद्यानभित्र आधुनिक ‘भानु भवन’ निर्माण गरिनुका साथै सातै प्रदेशका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका अग्रज व्यक्तित्वहरूको सालिक स्थापना गर्ने योजना रहेको छ।
यस ऐतिहासिक आयोजनाले विश्वभर रहेका नेपाली भाषीहरूका लागि चुँदी रम्घालाई सांस्कृतिक तीर्थस्थल तथा साहित्यिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page