काठमाडौँको डोजर अभियान पराकम्पन दमौलीमा: समन्वयको जग्गामा बनेका बिसघरेका १५८ घर के हाेला !

काठमाडौँको डोजर अभियान पराकम्पन दमौलीमा: समन्वयको जग्गामा बनेका बिसघरेका १५८ घर के हाेला !

काठमाडौँमा सुकुमबासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने सरकारी अभियानको प्रभाव अब तनहुँको दमौली क्षेत्रमा पनि देखिन थालेको छ। काठमाडौँ मा सुरु भएको यो अभियानले दमौली र आसपासका अतिक्रमणकारिहरूमा स्पष्ट त्रास सिर्जना गरेको छ।
दमौलीस्थित व्यास नगरपालिका–३ देउरालिनगर/बिसघरे क्षेत्रमा रहेको करिब २९ रोपनी जग्गा हाल १५८ जनाले अनाधिकृत रूपमा भोगचलन गर्दै आएको तथ्य बाहिर आएको छ। उक्त क्षेत्रमा साना तथा ठूला घरहरू निर्माण भइसकेका छन्। अझ रोचक पक्ष के भने, त्यहाँ बनेका केही घरहरू आपसी समझदारीमै किनबेच भएका छन् भने कतिपय घर भाडामा समेत लगाइएको अवस्था छ।
उक्त अतिक्रमित जग्गामध्ये कित्ता नम्बर ३४ को १५ रोपनी ३ आना १ पैसा ३ दाम र कित्ता नम्बर ३५ को १४ रोपनी ६ आना १ दाम क्षेत्रफल ओगटिएको छ। यो सम्पूर्ण जग्गा जिल्ला समन्वय समिति तनहुँ को स्वामित्वमा रहेको १६९ रोपनी ३ आना जग्गामध्ये पर्छ, जसको ठूलो हिस्सा लामो समयदेखि अतिक्रमणमा रहेको देखिएको छ।
यो समस्या नयाँ होइन—तत्कालीन जिल्ला विकास समिति हुँदादेखि नै उक्त जग्गाहरू अनधिकृत रूपमा प्रयोग हुँदै आएको पाइन्छ। तर पछिल्लो समय केन्द्रीय सरकारले देशभरका सरकारी जग्गा खाली गराउने अभियान तीव्र बनाएपछि यस विषयमा चासो बढ्दै गएको छ।


यसै सन्दर्भमा, अब दमौलीको बिसघरे क्षेत्र लगायतका स्थानमा कहिले डोजर चल्ने हो भन्ने प्रश्न स्थानीयवासीबीच उठ्न थालेको छ। काठमाडौँमा सुरु भएको अभियानको ‘पराकम्पन’ यहाँसम्म आइपुगेको भन्दै स्थानीय स्तरमा चासो, त्रास र अन्योलता तीनै एकसाथ देखिएको अवस्था छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page