तेस्रो पुर्कोट महोत्सव–२०८३ भोलिदेखि सुरु हुँदै, राष्ट्रिय खेलाडी सनिस श्रेष्ठको सम्मान गरिने
भानु नगरपालिका–९ स्थित पुर्कोटमा “तेस्रो पुर्कोट महोत्सव–२०८३” भोलि अर्थात् २०८३ साल बैशाख १६ गतेदेखि सुरु हुँदैछ। बैशाख २८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव पुर्कोट युनेस्को क्लवको आयोजनामा हुन लागेको हो।
क्लवका अध्यक्ष सुजन थपलियाका अनुसार स्थानीय कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। “महोत्सवले पुर्कोट क्षेत्रको पहिचानलाई राष्ट्रिय स्तरमा पुर्याउने विश्वास लिएका छौं,” अध्यक्ष सुजनले बताए।
महोत्सवको उद्घाटन भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा विशेष आकर्षणका रूपमा राष्ट्रिय फुटबल टिमका खेलाडी सनिस श्रेष्ठलाई सम्मान गरिने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेलकुद प्रतियोगिता, कृषि तथा घरेलु उत्पादन प्रदर्शनी, तथा स्थानीय परिकारको स्टलहरू रहनेछन्। यसले स्थानीय व्यवसाय प्रवर्द्धनसँगै आन्तरिक पर्यटनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।

आयोजक युनेस्कोले महोत्सवलाई सफल बनाउन सम्पूर्ण स्थानीयवासी, विभिन्न संघ–संस्था, व्यवसायी तथा दर्शकहरूलाई सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ। साथै उद्घाटन समारोहमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सबैमा हार्दिक आमन्त्रण समेत गरिएको छ।


























