मुग्लिन–पोखरा सडकमा समावेशी सुरक्षा अवधारणा: अपाङ्गता भएका व्यक्तिका लागि सचेतना कार्यक्रम सम्पन्न
दमौली, वैशाख —
मुग्लिन–पोखरा सडक खण्डलाई अपाङ्गतामैत्री तथा सामाजिक रूपमा समावेशी बनाउने उद्देश्यसहित व्यास नगरपालिकाको सभाहलमा विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।
सडक आयोजनाको पहलमा आयोजित कार्यक्रममा निर्माण प्रक्रियामा शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूको अधिकार र सुरक्षालाई कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सहभागीहरूसँग गहन छलफल तथा जानकारी आदानप्रदान गरिएको थियो।
कार्यक्रममा विज्ञ उदबोध भण्डारीले ट्राफिक नियमसम्बन्धी पर्याप्त ज्ञानको अभावले दुर्घटनाको जोखिम बढेको उल्लेख गर्दै विशेष गरी अपाङ्गता भएका व्यक्तिका लागि निर्माण गरिएका पूर्वाधारमा अन्य सवारी साधनको प्रवेशले थप समस्या सिर्जना गरिरहेको बताउनुभयो। उहाँले दृष्टिविहीन व्यक्तिको सुरक्षित आवागमनका लागि ‘अडियो टेक्सटायल’ निर्माण गरिने तथा मार्गमा अवरोध बनेका विद्युत् पोलहरू हटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सडक सुरक्षा अधिकृत कुमार श्रेष्ठले समावेशी सडक सुरक्षा अवधारणा अन्तर्गत जेब्रा क्रसिङलाई फराकिलो बनाइएको र गुणस्तरीय र्याम्प निर्माणमा जोड दिइएको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी सितादेवी कुँवर र ईश्वर बास्तोलाले अपाङ्गतामैत्री पूर्वाधार तथा अवरोधमुक्त पदमार्गको आवश्यकता औंल्याउनुभयो। त्यस्तै, व्यास नगर शिक्षा प्रमुख केदारराज आचार्यले दुर्घटनाको उच्च जोखिम भएका क्षेत्रमा विशेष सुरक्षा व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो।

उक्त कार्यक्रमले सडक पूर्वाधार निर्माणमा समावेशीपनको महत्व उजागर गर्दै सडक सुरक्षामा सबै सरोकारवालाको साझा जिम्मेवारी रहने सन्देश दिएको छ।


























