रास्वपा व्यास नगर अधिवेशन आज, सभापतिमा त्रिपक्षीय भिडन्त; नगरको नतिजाले जिल्ला राजनीतिमा समेत प्रभाव पार्ने

रास्वपा व्यास नगर अधिवेशन आज, सभापतिमा त्रिपक्षीय भिडन्त; नगरको नतिजाले जिल्ला राजनीतिमा समेत प्रभाव पार्ने


दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगरको प्रथम नगर अधिवेशन आज तनहुँ उद्योग वाणिज्य संघको सभा हलमा हुँदैछ। अधिवेशनसँगै नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएपछि पार्टीभित्र चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ।
व्यास नगरको नेतृत्वका लागि हालका सभापति चुडामणि दाहाल, क्षेत्रीय सचिव सूर्य लम्साल र नगर उपसभापति सुशील पौडेल बीच प्रतिस्पर्धा हुने निश्चित जस्तै देखिएको छ। सभापति पदमा सहमति जुटाउने प्रयास भए पनि अन्ततः निर्वाचनमै जाने अवस्था बनेको नेताहरू बताउँछन्।
१४ वटै वडाबाट वडा समिति, प्रतिनिधि तथा नगर कमिटीसहित करिब २५० जनाको सहभागिता रहने अधिवेशनमा अधिकांश पदमा भने सहमति जुटेको जनाइएको छ। नगर सचिवमा भाग्यशाली ढुंगाना सर्वसम्मत चयन भएका छन् भने अन्य धेरै पदमा पनि सहमतिको वातावरण बनेको छ। तर सभापति पदमा भने तीन आकांक्षी पछि नहट्दा प्रतिस्पर्धा हुने भएको हो।
अधिवेशनलाई लिएर व्यास नगरभित्र मात्रै होइन जिल्ला राजनीतिक वृत्तमै चासो बढेको छ। यही जेठ २४ र २५ गते हुने रास्वपा तनहुँ जिल्ला अधिवेशनअघि व्यास नगरको नेतृत्व कसको हातमा पुग्छ भन्ने विषयले जिल्ला नेतृत्व चयनमा समेत प्रभाव पार्ने आकलन गरिएको छ।
पार्टीभित्र जिल्ला सभापतिका आकांक्षी विश्व वास्तोला र विष्णु पन्त पक्षले पनि व्यास नगरको नतिजालाई नजिकबाट हेरिरहेका छन्। व्यास नगरलाई जिल्लाको राजनीतिक रूपमा प्रभावशाली पालिकामध्ये एक मानिने भएकाले यहाँको नेतृत्वले आगामी जिल्ला अधिवेशनको समीकरणमा समेत असर पार्ने नेताहरूको बुझाइ छ।

अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारहरूबीच भेटघाट, छलफल र मत व्यवस्थापन तीव्र बनेको छ। अधिकांश पदमा सहमति भए पनि सभापति पदको भिडन्तले व्यास नगर अधिवेशनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ। अहिले पार्टी वृत्तमा सबैको चासो एउटै छ— व्यास नगरको नेतृत्व अब कसको हातमा पुग्ला?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page