आँबुखैरेनीमा ३८ भूमिहीन सुकुम्बासीको विवरण प्रमाणित, लालपूर्जा वितरण प्रक्रिया अघि बढ्यो

आँबुखैरेनीमा ३८ भूमिहीन सुकुम्बासीको विवरण प्रमाणित, लालपूर्जा वितरण प्रक्रिया अघि बढ्यो


तनहुँ, साउन ४ — तनहुँको आँबुखैरेनी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रियालाई अगाडि बढाउँदै वडा नं. १ देखि ६ सम्मका ३८ परिवारको विवरण प्रमाणित गरेको छ।
गाउँकार्यपालिकाको साउन १ गते बसेको बैठकले उक्त निर्णय गर्दै लालपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया अघि बढाउन भूमि समस्या समाधान समिति तनहुँमा विवरण पठाएको हो।
गाउँपालिकाका अनुसार प्रमाणित भएका ३८ भूमिहीन सुकुम्बासी परिवारको विवरण अब भूमि समस्या समाधान समिति तनहुँमार्फत आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भएपछि धनीपुर्जा वितरणतर्फ अघि बढाइनेछ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले भूमिहीन परिवारलाई सम्पत्ति अधिकार, सम्मानित जीवन र सुरक्षित भविष्य प्रदान गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको बताए। उनले “भूमिहीनको हातमा धनीपुर्जा, समतामूलक समाजको ऊर्जा” भन्ने नीतिअनुसार सबै नागरिकको भूमि अधिकार सुनिश्चित गर्दै समावेशी विकास र समान अवसर प्रदान गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे।


भूमि स्वामित्वको अभावका कारण लामो समयदेखि विभिन्न सरकारी सेवा तथा आर्थिक अवसरबाट वञ्चित नागरिकका लागि यो निर्णय महत्वपूर्ण कदमका रूपमा हेरिएको गाउँपालिकाको भनाइ छ। साथै, पारदर्शी सेवा प्रवाह, नागरिकको अधिकार सुनिश्चित गर्ने तथा समृद्ध आँबुखैरेनी निर्माण गर्ने लक्ष्यसहित भूमि व्यवस्थापनका बाँकी प्रक्रिया पनि प्रभावकारी रूपमा अघि बढाइने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page