भानु नगरपालिकामा एउटै योजनाका लागि दुई उपभोक्ता समिति गठन, १९ लाख ८८ हजार रुपैयाँभन्दा बढी भुक्तानी
दमौली । भानु नगरपालिकाले एउटै योजनालाई टुक्र्याएर फरक–फरक दुई उपभोक्ता समिति गठन गरी लाखौँ रुपैयाँ भुक्तानी गरेको विषय सार्वजनिक भएको छ। साथै उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका विभिन्न योजनामा नियमविपरीत हेभी उपकरण प्रयोग गरिएको विषय पनि औँल्याइएको छ।
लेखापरीक्षण प्रतिवेदनअनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ ले उपभोक्ता समितिमार्फत निश्चित सीमासम्मका निर्माण कार्य सञ्चालन गर्न सकिने व्यवस्था गरेको भए पनि नगरपालिकाले एउटै प्रकृतिको योजनालाई विभाजन गरी फरक–फरक उपभोक्ता समिति गठन गरेर भुक्तानी गरेको देखिएको हो।
प्रतिवेदनमा उल्लेख भएअनुसार कोटगाउँ खानेपानी योजना अन्तर्गत दुई उपभोक्ता समितिलाई फरक–फरक मितिमा क्रमशः रु. ९ लाख ८८ हजार ७०० र रु. ९ लाख ९९ हजार ५०० भुक्तानी गरिएको छ। यसरी एउटै योजनामा दुई उपभोक्ता समिति गठन गरी कुल रु. १९ लाख ८८ हजार २०० भुक्तानी गरिएको रकमलाई अनियमित ठहर गरिएको छ।
यसैगरी, उपभोक्ता समितिमार्फत सञ्चालन गरिएका सडक तथा अन्य पूर्वाधार योजनामा डोजर, एक्साभेटर, लोडर, रोलरलगायत हेभी उपकरण प्रयोग गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। सार्वजनिक खरिद नियमावलीअनुसार उपभोक्ता समितिबाट सञ्चालन हुने निर्माण कार्यमा सामान्यतया यस्ता उपकरण प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ। जटिल प्रकृतिको कार्यमा भने सम्बन्धित प्राविधिकको सिफारिस र सार्वजनिक निकायको स्वीकृतिमा मात्र प्रयोग गर्न सकिने प्रावधान छ।
तर नगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न योजनामा हेभी उपकरण प्रयोग गरिएको देखिए पनि आवश्यक प्राविधिक सिफारिस तथा स्वीकृतिका आधारहरू स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न, उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनामा पारदर्शिता कायम गर्न तथा अनियमित देखिएका विषयमा आवश्यक प्रमाण र कागजात पेश गरी प्रक्रिया मिलाउन नगरपालिकालाई सुझाव दिएको छ।


























