दमौलीमा ‘श्रीङ्गार मेकअप स्टुडियो’को पहिलो वार्षिकोत्सव, नयाँ सेवासहित उत्सव मनाइयो

दमौलीमा ‘श्रीङ्गार मेकअप स्टुडियो’को पहिलो वार्षिकोत्सव, नयाँ सेवासहित उत्सव मनाइयो


दमौली, साउन ५। व्यास नगरपालिका–२, कालिका मार्ग टोल नजिक नागको थान अगाडि रहेको श्रीङ्गार मेकअप स्टुडियोले स्थापना भएको एक वर्ष पूरा गरेको अवसरमा पहिलो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।
वार्षिकोत्सवका अवसरमा महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन्। कार्यक्रममा जिल्लाका महिला उद्यमी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले महिलाको सीप, मेहनत र उद्यमशीलताले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताइन्। उनले श्रीङ्गार मेकअप स्टुडियोले सौन्दर्य सेवा मात्र नभई सीपमूलक तालिममार्फत महिलालाई आत्मनिर्भर बन्न प्रेरित गरेको उल्लेख गर्दै आगामी दिनमा अझ सफलताका साथ सेवा विस्तार गर्दै जान शुभकामना व्यक्त गरिन्।
स्टुडियोकी सञ्चालिका बिटिसा श्रेष्ठले एक वर्षको यात्रामा ग्राहकले देखाएको विश्वास, माया र साथप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, आधुनिक र ग्राहकमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता जनाइन्। उनले दमौलीमै फरक र आकर्षक शैलीमा महिलाका लागि आवश्यक सौन्दर्यसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको बताइन्।
स्टुडियोमा दुलही मेकअप, व्यावसायिक मेकअप तालिम, अमेरिकन डायमण्ड गहना, सरप्राइज गिफ्ट प्याकिङ, डेकोरेशन सामग्री तथा महिलाका लागि आवश्यक विभिन्न सौन्दर्य सामग्री र सेवाहरू उपलब्ध छन्। साथै मेकअप सिक्न चाहने महिलाका लागि व्यावसायिक तालिमसमेत सञ्चालन हुँदै आएको सञ्चालिका श्रेष्ठले जानकारी दिइन्।
कार्यक्रममा केक काटेर पहिलो वार्षिकोत्सवको खुसी साटासाट गरिएको थियो। सहभागीहरूले छोटो अवधिमै श्रीङ्गार मेकअप स्टुडियोले दमौलीमा आफ्नै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ उन्नति, प्रगति र सफलताको शुभकामना व्यक्त गरेका थिए।


श्रीङ्गार मेकअप स्टुडियोले महिलालाई सौन्दर्य सेवा प्रदान गर्नुका साथै सीपमूलक तालिममार्फत स्वरोजगार, आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धनमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page