व्यास अवतरण दिवस तथा गुरु पूर्णिमा तीन दिन मनाइने

व्यास अवतरण दिवस तथा गुरु पूर्णिमा तीन दिन मनाइने

निरज रेग्मी ,
दमौली, साउन ७। व्यास नगरपालिका–३, दमौलीस्थित व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले व्यास अवतरण दिवस तथा गुरु पूर्णिमाको अवसरमा आयोजना गरिने तीनदिने कार्यक्रमबारे जानकारी गराउन बिहीबार पत्रकार सम्मेलन आयोजना गरेको छ।
कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव विष्णुभक्त सिग्देलले गर्नुभएको थियो। पत्रकार सम्मेलनमार्फत व्यास अवतरण दिवस तथा गुरु पूर्णिमाको अवसरमा सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमको उद्देश्य, कार्यक्रम तालिका तथा व्यास क्षेत्रको धार्मिक–ऐतिहासिक महत्वबारे जानकारी गराइएको हो।
पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले महर्षि वेदव्यासको जन्मस्थलका रूपमा परिचित व्यास क्षेत्र सनातन धर्म, संस्कृति र सभ्यताको महत्वपूर्ण केन्द्र भएकाले यसको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारका लागि हरेक वर्ष व्यास अवतरण दिवस तथा गुरु पूर्णिमा विशेष रूपमा मनाउँदै आएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनका साथै नयाँ पुस्तालाई वेदव्यासको योगदान र गुरु–शिष्य परम्पराबारे जानकारी गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
महासचिव सिग्देलले तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको विस्तृत कार्यतालिका सार्वजनिक गर्दै गुरु पूजा, विशेष पूजा–आराधना, धार्मिक प्रवचन, भजन–कीर्तन, गुरु सम्मान, कविता , प्रसाद वितरण तथा अन्य आध्यात्मिक कार्यक्रम समावेश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार गुरु पूर्णिमाको दिन मनाइने व्यास अवतरण दिवस कार्यक्रममा प्रमुख अतिथिका रूपमा स्वामी कल्याण मित्र सहभागी हुनुहुनेछ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी , कोषका उपाध्यक्ष मंगलप्रसाद श्रेष्ठ र विना कैनी, सचिव ऋषिराम ढुंगाना, कार्यसमिति सदस्य, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।


आयोजकका अनुसार तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा देशका विभिन्न स्थानबाट साधुसन्त, धर्मगुरु, विद्वान तथा श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत महर्षि वेदव्यासको योगदानको स्मरण गर्दै व्यास क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई थप उजागर गर्ने र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको कोषले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page