भोलि दमौली–पोखरा रुटमा माइक्रो बस सञ्चालन ठप्प हुने

भोलि दमौली–पोखरा रुटमा माइक्रो बस सञ्चालन ठप्प हुने

साम्राज्ञी पाण्डे ,
दमौली, साउन ८ – दमौली–पोखरा माइक्रो सञ्चालन उपसमितिअन्तर्गत आबद्ध व्यवसायीहरूले विभिन्न माग राख्दै शुक्रबार सम्पूर्ण माइक्रो बस सञ्चालन बन्द गर्ने घोषणा गरेका छन्।
व्यवसायीहरूले कम्पनीमा नयाँ सवारी दर्ता, रुट व्यवस्थापन, पालो प्रणाली तथा सदस्यता वितरणसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गरी निष्पक्ष मापदण्डका आधारमा पुनः व्यवस्थापन गर्न माग गरेका छन्। साथै, मार्गको वास्तविक यात्रु चाप र सडक क्षमताको वैज्ञानिक अध्ययनबिनै दर्ता गरिएका सवारी साधनको निष्पक्ष छानबिन गरी आवश्यक परे दर्ता बदर गर्नुपर्ने माग पनि अघि सारेका छन्।
त्यस्तै, कम्पनी स्थापना भएयताका सम्पूर्ण आर्थिक कारोबार, आम्दानी–खर्च, शुल्क संकलन तथा सम्पत्ति व्यवस्थापनको स्वतन्त्र लेखापरीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्न, कम्पनीका निर्णय तथा कागजात सदस्यलाई उपलब्ध गराउन तथा व्यवसायीसँगको सहमति वा साधारण सभाको निर्णयबिनाका सबै विवादास्पद निर्णय तत्काल खारेज गर्न उनीहरूको माग छ।
व्यवसायीहरूको भनाइअनुसार कम्पनीमा पछिल्लो समय थपिएका नयाँ माइक्रो सवारीका अधिकांश शेयरधनी कम्पनीका वास्तविक सदस्य वा व्यवसायी नभएकाले व्यवस्थापनमा असन्तुलन सिर्जना भएको छ। यही विषयलाई लिएर आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्।


आन्दोलनका कारण शुक्रबार दमौली–पोखरा रुटमा कुनै पनि माइक्रो बस सञ्चालन नहुने जनाइएको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउन सम्पूर्ण व्यवसायी, चालक तथा सहचालकलाई आफ्ना सवारी घरमै राखी बिहान ११ बजे कम्पनीको कार्यालयमा उपस्थित हुन दमौली–पोखरा माइक्रो सञ्चालन उपसमितिले आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page