दमौलीमा विश्वकप फाइनल भव्य रूपमा सम्पन्न : आयोजक युवा टोलीद्वारा सबैप्रति आभार, ‘दमौलीमा पनि सम्भव रहेछ’ भन्ने सन्देश

दमौलीमा विश्वकप फाइनल भव्य रूपमा सम्पन्न : आयोजक युवा टोलीद्वारा सबैप्रति आभार, ‘दमौलीमा पनि सम्भव रहेछ’ भन्ने सन्देश


निरज रेग्मी
दमौली, साउन ७ । विश्वकप फुटबल २०२६ को फाइनल खेल दमौलीमा पहिलोपटक विशाल एलईडी स्क्रिनमार्फत सामूहिक रूपमा प्रत्यक्ष प्रदर्शन गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि आयोजक युवा टोलीले कार्यक्रम सफल बनाउन साथ र सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
दमौलीस्थित जिल्ला प्रशासन कार्यालयको गेट (सफासडक) मा न्यु डे डेस्टिनी सेन्टर, दमौलीको आयोजनामा १०×२० फिटको विशाल एलईडी स्क्रिन र साउण्ड सिस्टममार्फत फाइनल खेल प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रममा ठूलो संख्यामा फुटबलप्रेमीहरूको सहभागिता रहेको थियो भने खेलभर उत्साहपूर्ण तर शान्तिपूर्ण वातावरण कायम रहेको थियो।
कार्यक्रम सम्पन्न भएपछि आयोजक युवा टोलीका तर्फबाट दुर्गा राज थापाले सुरक्षाकर्मी, नेपाल प्रहरी, जिल्ला प्रशासन, प्रायोजक, स्वयंसेवक, सञ्चारकर्मी, दर्शक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे।
उनले सबैको साथ, विश्वास र सहयोगका कारण कुनै अप्रिय घटना बिना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै दमौलीमा पनि व्यवस्थित ढंगले ठूला सार्वजनिक कार्यक्रम आयोजना गर्न सकिने सन्देश दिन यो कार्यक्रम सफल भएको बताए।
“हामीले एउटा खेल मात्र देखाएका होइनौं, दमौलीमा पनि सबै मिलेर चाहे यस्ता ठूला कार्यक्रम सभ्य र शान्तिपूर्ण रूपमा गर्न सकिन्छ भन्ने सन्देश दिएका छौं , अर्का युवा दिपक न्याैपानेले भने। यो सफलताका लागि सहयोग गर्ने सुरक्षाकर्मीदेखि खेल हेर्न आउनुभएका प्रत्येक दर्शकसम्म सबैप्रति हामी कृतज्ञ छौं,” न्याैपानेले भने।
कार्यक्रम सफल बनाउन युवा टोलीका सुमन श्रेष्ठ, भुवन गोसली, असिम कुमाल, गौरव खड्का, दीपक न्यौपाने र दुर्गा राज थापालगायत निरन्तर रूपमा खटिएका थिए। उनीहरूको समन्वय र व्यवस्थापनको स्थानीयवासीले समेत प्रशंसा गरेका छन्।

दमौलीमा पहिलोपटक ठूलो पर्दामा विश्वकप फाइनल सामूहिक रूपमा हेर्ने अवसर जुटेपछि खेलप्रेमीहरू उत्साहित बनेका थिए। सहभागीहरूले आगामी दिनमा पनि यस्ता सामुदायिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page