म्याग्दे–५ को कान्छीबाराही झरनामा शनिबार रक क्लाइम्बिङ कार्यक्रम हुने
म्याग्दे, साउन ७ – तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित पर्यटकीय गन्तव्य कान्छीबाराही झरनामा शनिबार (साउन ९) बिहान १० बजेदेखि रक क्लाइम्बिङ (डोरीको सहायताले झरनामा साहसिक अवतरण गर्ने खेल) सञ्चालन हुने भएको छ।
बिमलनगर टोलीको आयोजनामा हुने उक्त साहसिक कार्यक्रममा ठुलो संख्यामा स्थानीयकाे सहभागिता रहने जनाइएको छ। आयोजकले सबैलाई आ–आफ्नो टोलबस्तीमा जानकारी गराई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको समाजसेवी महिला नेतृ सारदा उपरकाेटिले बताइन् ।
वडा अध्यक्ष शिवबहादुर आलेका अनुसार म्याग्दे–५ स्थित कान्छीबाराही झरना पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त झरनालाई थप प्रवर्द्धन गर्ने उद्देश्यले साहसिक पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिएको उनले बताए।

स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन, साहसिक खेलप्रति आकर्षण बढाउने तथा कान्छीबाराही झरनालाई थप परिचित गराउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।


























