माइक्रो व्यवसायीको बन्दको चर्चाबीच स्थानीय यातायातको स्पष्टिकरण : ‘भोलि नियमित रूपमा सवारी सञ्चालन हुन्छ’
दमौली, साउन ७ – पोखरा–दमौली रुटमा सञ्चालन हुने माइक्रो तथा हायस सवारीसाधन शुक्रबार (साउन ८) बन्द हुने भन्ने समाचार तथा सामाजिक सञ्जालमा चर्चा भइरहेका बेला श्री स्थानीय यातायात प्रालिले त्यस्तो कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ।
कम्पनीले बिहीबार सूचना जारी गर्दै विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘साउन ८ गते आफ्ना सवारीसाधन घर तथा ग्यारेजमा राखी सञ्चालन नगर्ने’ भन्ने विषयमा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। तर उक्त विषयमा कम्पनीले कुनै पनि आधिकारिक पत्र वा सूचना जारी नगरेको स्पष्ट पारिएको छ।
कम्पनीले अनर्गल हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्दै आफ्ना सम्पूर्ण सवारीसाधन शुक्रबार पनि निर्वाध रूपमा नियमित सञ्चालन हुने जनाएको छ। यात्रु तथा सरोकारवालालाई सही जानकारी गराउने उद्देश्यले उक्त सूचना सार्वजनिक गरिएको कम्पनीले उल्लेख गरेको छ।
यसअघि केही माइक्रो व्यवसायीहरूले विभिन्न माग राख्दै आन्दोलनस्वरूप साउन ८ गते सवारी सञ्चालन नगर्ने तयारीबारे जानकारी गराएका थिए। त्यसपछि यात्रुमा अन्योल सिर्जना भएपछि कम्पनीले आधिकारिक धारणा सार्वजनिक गर्दै आफू बन्दको पक्षमा नरहेको र नियमित सेवा सञ्चालन हुने स्पष्ट पारेको हो।

कम्पनीको पछिल्लो स्पष्टिकरणसँगै शुक्रबार पोखरा–दमौली रुटमा कम्पनीअन्तर्गतका सवारीसाधन नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।


























