छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते

छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते

निरज रेग्मी
दमौली, साउन ८ — तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा शुक्रबार अपराह्न हाईस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाईस चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना अपराह्न करिब ४:२५ बजे भएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। हाईसमा १२ जना सवार रहेकामा ४ जना सकुशल रहेका छन्।
डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचाररत घाइतेहरूमा बाँकेको खजुरा गाउँपालिका–२ का ३२ वर्षीय रमेश क्षेत्री (घाँटी, ढाड र दाहिने हातमा चोट, अवस्था मध्यम), काठमाडौं नागार्जुन नगरपालिका–१ की ५६ वर्षीया शशीकला अधिकारी (घाँटी र काँधमा चोट, अवस्था मध्यम), कास्की पोखरा–११ का ५५ वर्षीय दयाराम पोखरेल (दाहिने हातमा चोट), झापा भद्रपुर–१ की ३५ वर्षीया तारा सुब्बा (ढाड र कम्मरमा चोट), दैलेख डुङ्गेश्वर–२ का २७ वर्षीय नवीन खड्का (ढाडमा चोट) र सप्तरी खडक–४, अमाहाका १७ वर्षीय उज्वल यादव रहेका छन्। रमेश क्षेत्री र शशीकला अधिकारीको अवस्था मध्यम तथा अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यस्तै, प्रदेश अस्पताल दमौलीमा बझाङ जयपृथ्वी नगरपालिका–२ का २९ वर्षीय माधव प्रसाद जोशी र बित्थडचिर गाउँपालिका–८ का २४ वर्षीय जीवन जोशी उपचाररत छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।


प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page