व्यासनगरपालिकामा दाहसंस्कार सेवा निःशुल्क बनाउन ज्ञापनपत्र

व्यासनगरपालिकामा दाहसंस्कार सेवा निःशुल्क बनाउन ज्ञापनपत्र


दमौली, साउन ८ – व्यास नगरपालिकाका स्थानीय नागरिकहरूले दाहसंस्कार खर्च र घाट सेवा निःशुल्क तथा सहुलियतपूर्ण बनाउन माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।
दीपक राज न्यौपानेको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा नागरिकले जीवनभर विभिन्न शीर्षकमा कर तिरे पनि अन्तिम संस्कारका बेला ठूलो आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गरिएको छ। विशेषगरी विपन्न तथा निम्न–मध्यम वर्गका परिवारलाई दाहसंस्कार खर्चले थप पीडा थप्ने भएकाले स्थानीय सरकारले यसतर्फ ध्यान दिनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा स्थानीय घाटमा दाहसंस्कार सेवा र काठ निःशुल्क उपलब्ध गराउने, घर वा अस्पतालदेखि घाटसम्म २४सै घण्टा निःशुल्क शववाहन सञ्चालन गर्ने, आर्थिक रूपमा असहाय परिवारका लागि ‘दाहसंस्कार सहयोग कोष’ स्थापना गर्ने, स्थानीय करबाट निश्चित प्रतिशत बजेट छुट्याई ‘दाहसंस्कार तथा घाट व्यवस्थापन कोष’ गठन गर्ने तथा घाट क्षेत्रमा २४सै घण्टा विद्युत्, सोलार बत्ती र उज्यालोको व्यवस्था गर्नुपर्ने माग राखिएको छ।
वैदेशिक रोजगारीका कारण गाउँघरमा जनशक्ति अभाव भएकाले शव बोक्ने मानिससमेत जुटाउन कठिन हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै नगरभित्र निःशुल्क शववाहन सेवा अपरिहार्य भएको ज्ञापनपत्रमा जनाइएको छ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई यस्ता विषय व्यवस्थापन गर्ने अधिकार दिएको उल्लेख गर्दै आगामी नीति, कार्यक्रम र बजेटमै यी विषय समेटी कार्यान्वयन गर्न ज्ञापनपत्रमार्फत व्यास नगरपालिकासँग आग्रह गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page