स्वर्गीय हरिराज काफ्लेको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न, शिक्षा क्षेत्रमा उहाँको योगदानको स्मरण

स्वर्गीय हरिराज काफ्लेको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न, शिक्षा क्षेत्रमा उहाँको योगदानको स्मरण

श्री महेन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक स्वर्गीय हरिराज काफ्लेको तेह्रौँ दिनको पुण्यतिथिको अवसरमा विद्यालय परिसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्रोत शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक आनन्दराज पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा स्वर्गीय काफ्लेप्रति माल्यार्पण, पुष्पाञ्जली तथा एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। वक्ताहरूले स्वर्गीय काफ्लेले विद्यालयको समग्र शैक्षिक विकास, गुणस्तरीय शिक्षा, समावेशी शिक्षा, अनुशासन, शिक्षक–अभिभावक–समुदायबीचको सहकार्य तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा पुर्‍याउनुभएको योगदानको उच्च सम्मानका साथ स्मरण गरे।

पूर्व प्रधानाध्यापक बुद्धिकुमार श्रेष्ठले शोकलाई शक्तिमा रूपान्तरण गर्दै स्वर्गीय काफ्लेले देखाएको शैक्षिक मार्गमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद प्रसाद छिमालले विद्यालय परिवारले अभिभावक गुमाएको अनुभूति गरिरहेको उल्लेख गर्दै उहाँका असल कार्यलाई निरन्तरता दिन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

वडा प्रतिनिधि ढाल प्रसाद घिमिरेले शिक्षा क्षेत्र र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन स्वर्गीय काफ्लेले निर्वाह गर्नुभएको भूमिका स्मरण गर्नुभयो। शिक्षक अभिभावक संघका अध्यक्ष लाल बाबु पन्तले विद्यालयको समग्र विकासमा उहाँको नेतृत्वदायी योगदानको प्रशंसा गर्नुभयो।

त्यसैगरी लेखाजोखा संयोजक ईश्वर बास्तोलाले विशेषगरी बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा तथा समावेशी शिक्षाको प्रवर्द्धनमा स्वर्गीय हरिराज काफ्लेले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै स्रोत कक्षाको सुदृढीकरण, समान शैक्षिक अवसर र विद्यार्थीको अधिकार सुनिश्चित गर्न उहाँले खेलेको भूमिका सदैव प्रेरणादायी रहने बताउनुभयो।

कार्यक्रममा सहभागी शिक्षक, स्रोत शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूले स्वर्गीय हरिराज काफ्लेको इमानदार, अनुशासित, सेवाभावी र दूरदर्शी नेतृत्वको स्मरण गर्दै उहाँले अघि बढाउनुभएको गुणस्तरीय, समावेशी र मानवीय शिक्षाको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। श्रद्धाञ्जली सभाले शिक्षा क्षेत्रमा उहाँले छोड्नुभएको योगदान दीर्घकालसम्म प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page