३२औँ विश्व आदिवासी दिवस तनहुँमा तीन दिन विविध कार्यक्रमसहित मनाइने

३२औँ विश्व आदिवासी दिवस तनहुँमा तीन दिन विविध कार्यक्रमसहित मनाइने


दमौली, साउन ९ — नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले ३२औँ विश्व आदिवासी दिवस तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ। परिषद्को शनिबार बसेको बैठकले “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता” भन्ने मूल नारासहित साउन २२, २३ र २४ गते विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
परिषद्का अध्यक्ष सनम तामाङको अध्यक्षतामा सम्पन्न बैठकले विश्व आदिवासी दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी आदिवासी जनजातिका हक–अधिकार, पहिचान, भाषा, संस्कृति तथा समावेशी राज्य व्यवस्थाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने कार्यक्रम तय गरेको जनाएको छ।
कार्यक्रमअनुसार साउन २२ गते सरकारी तथा गैरसरकारी संस्था, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायको सहभागितामा आदिवासी जनजातिको हक–अधिकार, संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयन तथा आईएलओ महासन्धि नं. १६९ लगायतका विषयमा अन्तरक्रिया तथा गोष्ठी आयोजना गरिनेछ। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अधिकारकर्मीहरूको सहभागिता रहनेछ।
साउन २३ गते माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामार्फत विद्यार्थीहरूलाई आदिवासी जनजातिको इतिहास, मौलिक संस्कृति, भाषा, पहिचान तथा संवैधानिक अधिकारबारे जानकारी गराउँदै सचेत नागरिकका रूपमा विकास गर्ने उद्देश्य राखिएको परिषद्ले जनाएको छ।
विश्व आदिवासी दिवसको मुख्य समारोह साउन २४ गते हुनेछ। त्यस दिन तनहुँका १० वटै स्थानीय तहबाट आदिवासी जनजाति समुदायको सहभागितामा भाँकी (झाँकी) र्‍याली, मौलिक पोशाक प्रदर्शन, परम्परागत नृत्य, गीत–संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। विभिन्न जातीय समुदायले आफ्नो मौलिक संस्कृति, भाषा, कला र परम्परा प्रस्तुत गर्ने भएकाले कार्यक्रमले सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
महासंघका अनुसार विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायका अधिकार, समान अवसर, समावेशी शासन व्यवस्था र सामाजिक न्यायका विषयमा जनचेतना फैलाउने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ। यस वर्षको मूल नाराले पनि प्राप्त उपलब्धिको संरक्षण गर्दै पहिचानसहितको समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने सन्देश दिएको परिषद्को भनाइ छ।


परिषद्ले तीनदिने कार्यक्रममा जिल्लास्थित सरकारी निकाय, स्थानीय तह, राजनीतिक दल, शैक्षिक संस्था, सामाजिक संघसंस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। साथै आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा पुस्तान्तरणमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page