काङ्ग्रेस नगर सभापतिमा सरोज भण्डारीको दाबेदारी, युवा नेतृत्वको बहस थप चर्चामा
दमौली, साउन ११ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र बन्दै जाँदा जिल्ला तथा स्थानीय तहमा नेतृत्वका आकांक्षीहरूले आफ्नो दाबेदारी सार्वजनिक गर्न थालेका छन्। यसैक्रममा नेपाली कांग्रेस व्यास नगर कार्यसमितिको सभापति पदमा युवा नेता सरोज भण्डारीले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
गत अधिवेशनमा नगर सचिव पदमा झिनो मतान्तरले पराजित भएका भण्डारी हाल व्यास नगरपालिका–४ का निर्वाचित वडा सदस्य हुन्। जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि उनले वडामा जनमैत्री सेवा प्रवाह, विकास निर्माणका काम तथा नागरिकका सुख–दुःखमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
भण्डारीले नगरसभा, नगर बैठक तथा व्यास नगरपालिकाका विभिन्न सार्वजनिक कार्यक्रममा वडा सदस्यको हैसियतबाट विकास, सुशासन र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। दमौलीसहित समग्र व्यास नगरपालिकालाई थप व्यवस्थित, सुन्दर र समृद्ध बनाउने विषयमा उनले विभिन्न समयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्।
पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व बढाउनुपर्ने बहस चलिरहेका बेला भण्डारीले आफू नगर सभापतिको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्। उनले पार्टीलाई थप सक्रिय, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यका साथ आफ्नो दाबेदारी अघि सारेको उल्लेख गरेका छन्।

पार्टीभित्र युवा नेतृत्वलाई अवसर दिनुपर्ने आवाज बलियो बन्दै गइरहेका बेला भण्डारीको दाबेदारीलाई कांग्रेस वृत्तभित्र मात्र होइन, बाहिर पनि चासोका साथ हेरिएको छ। धेरैले उनलाई आगामी नगर सभापतिको सम्भावित युवा नेतृत्वका रूपमा मूल्यांकन गर्न थालेका छन्।

























