राष्ट्रिय परिचयपत्र बनाउन नआत्तिनु – जिल्ला प्रशासन कार्यालय
जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र बनाउने समय अझै भएकोले नआत्तिन नागरिकहरूलाइ अनुरोध गरेको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले २०८१ साल श्रावण महिना देखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नं अनिवार्य गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्रको विवरण संकलनको लागि वृद्धवृद्धा एवं अपाङ्गता भएका व्यक्तिहरु लगायतको भीड बढिरहेको भन्दै सर्वसाधारणलाई नआत्तिन भनेको हाे ।



जिल्ला प्रशासन कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कार्यालयमा साविकमा २ वटा संकलन केन्द्र मार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलन हुँदै आएकोमा हाल ३ वटा संकलन केन्द्र थप गरी जिल्ला प्रशासन कार्यालय दमौलीबाट ४ वटा संकलन केन्द्र मार्फत र देवघाट गाउँपालिकाको केन्द्रबाट १ वटा संकलन केन्द्र समेतबाट गरी ५ वटा संकलन केन्द्र मार्फत सेवा प्रवाह भईरहेको जानकारी गराएकाे छ ।
५ वटा संकलन केन्द्र मार्फत बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म निरन्तर सेवा प्रवाह भईरहेकोलें श्रावण महिना भित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई राष्ट्रिय परिचय पत्रमा आवद्ध गरी सक्ने गरी काम भईरहेको हुँदा हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको, एक डेढ महिना अझै बाँकी समय रहेको अवस्थामा हतारो गरी भिडभाड नगरी दिनु हुन अनुरोध गर्दछौ। विज्ञप्तिमा भनिएको छ ।

तोकिएको समय भित्रै सबै सेवाग्राहीलाई सेवा प्रवाह गर्ने सम्बन्धमा थप के गर्न सकिन्छ भनी छलफल र तयारी भईरहेको जानकारी गराउदै समयमै सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय पूर्ण प्रतिवद्ध रहेको बताएको छ । आज सेवा नलिए भोली सेवा लिन पाईदैन भन्ने धारणा नराखी सेवा प्राप्त गर्न प्रयाप्त समय बाकी रहेकोले धैर्यपूर्वक स्वभाविक ढंगले सेवा प्राप्त गर्न आउन सर्वसाधारणहरुमा हार्दिक अनुरोध गर्दछौ। प्रशासकीय अधिकृत बिकास श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।



























