जग्गाको कारण देखाउँदै दमाैली अस्पताललाइ ५० बेडमा लान चाहँदैनन स्वास्थ्य सचिव शर्मा
दमाैली अस्पतालकाे निरीक्षणका लागि आइतबार कार्यबाहक मुख्यमन्त्री एवम् सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापा र स्वास्थ्य सचिव डाक्टर विनोदविन्दु शर्माकाे टाेली आयाे । अस्पतालकाे निरीक्षण पश्चात् जिल्ला समन्वयको हलमा अन्तरक्रिया कार्यक्रम भयो । उक्त कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य सचिव डा विनोद विन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताए ।

उनले दमौली अस्पतालको मुख्य समस्या जग्गा प्राप्ति नहुनु रहेकाले यो समस्या समाधानका लागि ध्यान दिनुपर्ने आवश्यकता औल्याए । दमाैली अस्पताल ५० बेडकाे बन्नुपर्छ भनेर बीसौं बर्षदेखी प्रतिक्षामा बसेका स्थानीय सराेकारवाला हरूले मन्त्री र सचिवले पक्कै तनहुँवासीकाे चाहना पूरा गर्छन् भन्ने विश्वासका साथ सुनिरहे ।
तर स्वास्थ्य सचिव शर्माले प्रदेश मन्त्रालयले गर्ने निर्णय सम्बन्धमा तर्किरहे । ५० बेडकाे प्रस्ताव पास गरेर सिफारिस पठाउँदा केन्द्रले स्वीकृत गरेन भने दरबन्दी पाइँदैन भन्दै उनलेे अलमल्याउने अभिव्यक्ति दिए । सहभागीहरूले तपाईंहरूले प्रदेशबाट सिफारिस पठाउनुस केन्द्रकाे जिम्मा हाम्रो हाे , जग्गाको व्यवस्था हामी मिलाउछाैँ भन्दापनी उनले सिफारिस पठाउने कुनै संकेत गरेनन् । त्यतिमात्रै हाेइन सचिव शर्माले बाेलिसकेपछि कार्यबाहक मुख्यमन्त्री थापा बाेल्ने बेलामा समेत मन्त्रीको कान फुकेर अहिले अफ्ट्यारो छ भन्नू भनेर बाेल्न दिएनन् । जसले गर्दा मन्त्री थापाले पनि प्रयास गर्छु मात्रै भने , हुने , गर्ने कुनै संकेत गरेनन् ।

स्वास्थ्य सचिव शर्माले प्रदेश कार्यलयले निति तथा कार्यक्रममा दमाैली अस्पताललाई उच्च प्राथमिकतामा राखेको भन्दै अब आन्दाेलन गर्न प्रदेशमा हाेइन केन्द्रमा जान भन्दै जिम्मेवारीबाट पन्छिने प्रयास गरे ।
यी अभिव्यक्तिले पनि स्वास्थ्य सचिव शर्मा दमाैली अस्पताललाई ५० बेडकाे अस्पताल बनाउन स्वीकृतिकाे लागि सिफारिस दिनुपर्छ भन्ने पक्षमा छैनन् भन्ने प्रमाणित गर्दछ ।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिमरण वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति प्रा डा कृष्णप्रसाद गौतम, पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठलगायतले अस्पतालको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराएका थिए ।
























