म्याग्दे गाउँपालिकामा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम असाेज २ गतेदेखि सुरु
म्याग्दे गाउँपालिकामा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम असाेज २ गतेदेखि सञ्चालन सुरु भएको छ ।

कार्यक्रम सञ्चालन गर्ने विषयमा म्याग्दे गाउँपालिका र मुख्यमन्त्री कार्यालयबीच सम्झौता भएको छ । सम्झौता पत्रमा म्याग्दे गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी र मुख्यमन्त्री कार्यालयको तर्फबाट प्रदेश सचिव केशव ढकालले हस्ताक्षर गरेका थिए ।

सहमति पत्रमा उल्लेख भए अनुसार परियोजना असोज २ गतेबाट सुरु भई २०८२ जेठ मसान्त सम्म लागू हुनेछ । परियोजना अन्र्तगत जैविक कृषि विकासका लागि मल उत्पादन र बजारीकरण परियोजना सञ्चालन हुनेछ । परियोजनाको कुल बजेट १ करोड २४ लाख रहेको छ ।उक्त बजेट मध्ये म्याग्दे गाउँपालिकाले २५ लाख २४ हजार रुपैयाँ साझेदारी गर्नेछ भने बाँकी ७५ लाख रुपैयाँ परियोजना अन्तर्गत मुख्यमन्त्री कार्यालयबाट प्राप्त हुनेछ ।
उक्त परियोजनाबाट म्याग्दे गाउँपालिकाका ५ सय घरपरिवारका १४ सय नागरिक लाभान्वित हुने लक्ष्य लिईएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
























