काठमाडौं बाट पाेखरा आउँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना हुँदा १२ जना घाइते
काठमाडौंबाट पोखरा आइरहेको माइक्रो बस नुवाकोटको शिवपुरी जंगलमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

झ्याप्ले खोलाकाे पहिरोका कारण पृथ्विराजमार्ग हुँदै आउन नपाएर नुवाकाेटको बाटाे पोखरा आउदै गरेको हायस गाडी सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका-७ चापाबोटमा दुर्घटना भएको प्रहरीले बताएको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ ।सडकबाट खसेको ग १ ख ४५३५ नम्बरको गाडी खसेर रूखमा अड्किएको थियो ।
गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।यो सडकखण्ड काठमाडौंबाट नुवाकोटको त्रिशुली हुँदै गल्छी पुगेर पृथ्वी राजमार्गमा जोडिन्छ।
























