रोट्रयाक्ट क्लवकाे रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन
रोट्रयाक्ट क्लब अफ दमौलीका संस्थापक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा शनिबार दमाैलीमा २२औं जिल्ला तथा ११औं राष्ट्रव्यापी स्व. रो. सचिन स्मृति रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष रवि अधिकारीले बताए । रगत अभावमा सचिन जसरी अन्यको मृत्यु नहोस भनेर हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।

कार्यक्रमकी प्रमुख अतिथि व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले हाम्रो थोरै रगतले अन्य बिरामीको ज्यान बच्ने भएकाले सबैले रक्तदान गर्नुपर्ने बताईन । सो अवसरमा प्रमुख अतिथि दरै आफैले समेत रक्तदान गरेकी थिइन् ।
नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको क्लवका सचिव पवन पौडेलले जानकारी दिए । रोट्रयाक्ट डिष्टिक ३२९२ आयोजक रहेको उक्त रक्तदान कार्यक्रमको पहलकर्ता रोट्रयाक्ट क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ काठमाण्डौ मेडिकल कलेज रहेको छ ।
देशभरका रोट्रयाक्ट क्लबहरुले होस्टका रुपमा आ-आफ्नो ठाउँमा दमौलीका सचिन कुमार श्रेष्ठको स्मृतिमा रक्तदान कार्यक्रम गरेको क्लबका अध्यक्ष अधिकारीले जानकारी दिए ।
कार्यक्रममा रोटरी क्लब अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठ, रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले लगाएतले बोलेका थिए । कार्यक्रममा स्वागत संगै सचिनको बारेमा क्लबका पुर्वअध्यक्ष दामोदर भण्डारीले जानकारी दिएका थिए ।
























