पत्रकार महासंघ तनहुँकाे अध्यक्षमा गठवन्धन भित्र विस्फोटको खतरा
नेपाल पत्रकार महासंघकाे अधिवेशन नजिकिए सँगै तनहुँमा अध्यक्षका दाबेदारहरू बिचमा रस्साकस्सी सुरु भएको छ । यही मंसिर २८ गते हुने निर्वाचनमा केन्द्र देखी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएपछि जिल्लामा यसले भाँडभैलाे मच्चाउने संकेत देखिएको छ । केन्द्रमा याे प्यानलबाट महासंघको अध्यक्षमा चाैतारिकी निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् ।

यस्तै प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका छन् ।
यता जिल्लामा भने केन्द्रकाे प्यानल लागु हुन्छकी हुँदैन भन्ने संका उब्जेको छ । खासगरी अध्यक्षमा प्रेस युनियन , प्रेस चाैतारी र प्रेस सेन्टरबाट आधा दर्जन आकांक्षी देखिएको र कसैले पनि एकले अर्कोलाई नछाड्ने अवस्था भए पछि यस्तो संकेत देखिएको हाे । केन्द्रकाे तालमेल अनुसार तनहुँमा प्रेस युनियनलाइ अध्यक्ष छाेड्नुपर्ने चाैतारीलाइ बाध्यता पर्ने अवस्था देखिन्छ । तर त्यस्तो भएमा चाैतारीबाट अध्यक्षमा दावेदार रहेका नारायण खड्काले नछाड्ने बताएका छन् । आफु जुनसुकै हालतमा चुनाव लड्ने उनले बताइरहेका छन् । केन्द्रले तनहुँ चाैतारीकाे भागमा पारे तालमेल सफल हुने नत्र भिड्ने खड्का बताउँछन् । यस्तो भएमा गठवन्धन भित्र विस्फोटको खतरा देखिन्छ ।

यता प्रेस युनियनका तर्फबाट युनियनका अध्यक्ष गाेरा मिया , निवर्तमान अध्यक्ष अमरराज नहर्की र महासंघ तनहुँका उपाध्यक्ष डिपी अधिकारीले दावी गरिरहेका छन् ।
यद्यपि यस बाहेक सर्वसम्मतकाे अवस्थामा पुर्व अध्यक्ष डम्बरबहादुर अधिकारीकाे नाम पनि उत्तिकै चर्चामा छ । अधिकारीले यस अगाडि आधा कार्यकाल मात्रै संघको नेतृत्व लिएकाेले एकपटक पूरा कार्यकाल अध्यक्ष बनाउनुपर्ने उनी निकटका पत्रकारहरूले आवाज उठाएका छन् , तर स्वयं अधिकारीले भने यस बारेमा मुख खाेलिसकेका छैनन् । उनी पर्ख र हेरकाे अवस्थामा छन् ।
युनियनबाट चर्चामा रहेका गाेरा मिया यस अगाडि पनि अध्यक्षमा पराजित भएका थिए । उनलेे आँफुले हारेको भन्दापनी हराइएकाेले पुन एकपटक अवसर पाउनुपर्ने बताइरहेका छन् ।
अर्का चर्चामा रहेका युनियनका पुर्व अध्यक्ष नहर्कीले युनियनको अध्यक्ष महासंघको उम्मेदवार बन्ने प्रचलन रहँदारहँदै पनि आफ्नाे पालामा साथीहरूकाे लागि त्याग गरेकोले यसपटक आफुले पाउनुपर्ने बताएका छन् । यस्तै अर्का दाबेदार डिपी अधिकारीले आफु हाल महासंघको उपाध्यक्ष भएकोले जाने ठाउँ अध्यक्ष मात्रै रहेकाेले युनियनको तर्फवाट आफुले उम्मेदवारी दिन पाउनुपर्ने बताएका छन् । सदरमुकाम भन्दा बाहिर माेफसलबाट दिँदा सकारात्मक सन्देश जाने भएकोले पनि युनियनले आफुलाइ उठ्न दिनुपर्ने अधिकारीले बताए ।
पत्रकार महासंघमा देउवा र ओलीविरुद्ध प्रचण्ड र शेखर कोईराला समुहको गठबन्धन बनेपछि तनहुँमा पनि त्यो अवस्था आउनसक्ने युनियनबाट अध्यक्षका दावेदार बनेका एकले बताए । अन्याय भयो भने त्यस्तो अवस्था आउन सक्ने उनलेे बताए ।
यता युनियन भित्र धेरै जना आकाँक्षी रहेकाेले असहमति बढ्ने र असन्तुष्टिकाे मत आँफुले पाउने आशामा प्रेस सेन्टरबाट सानेबहादुर नेपालीले उम्मेदवारी दिने तयारी गरेका छन् । महासंघको उपाध्यक्ष भइसकेका नेपाली सेन्टरको मत , युनियन र चाैतारीका असन्तुष्ट मत ल्याएर जित्ने दाउमा छन् । गठवन्धन सँग लड्न आफु तयार रहेको उनलेे बताए ।
हाल पत्रकार महासंघ तनहुँमा ५१ जना मतदाता छन् ।
केही दिन अगाडि प्रकाशित अन्तिम नामावलीमा भएका ५१ जनामा २८ जना युनियन निकट र बाँकी चाैतारी र सेन्टर निकट रहेको देखिन्छ । केही युनियनका सदस्यहरूले भने स्पस्ट बहुमत रहेको अवस्थामा कसैसँग नमिली एक्लै चुनावमा जानुपर्ने बताइरहेका छन् ।
























