बन्दीपुरकाे खहरेटारमा सुरु सांस्कृतिक कार्यक्रमकाे प्रथम मेयर श्रेष्ठ द्वारा उद्घाटन
तमु ल्हाेसारकाे अवसरमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ खहरेटारमा सांस्कृतिक कार्यक्रम एवं वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रथम मेयर ताराप्रसाद श्रेष्ठले उद्घाटन गर्दै युवाहरूलाइ संस्कृतिको संरक्षणको जिम्मेवारी दिएका छन् । मिलिजुली युवा क्लबले तमु ल्होसारको अवसरमा आयोजना गरेको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि श्रेष्ठले युवाहरूको सक्रिय योगदानले हाम्रो संस्कृतिको संरक्षण गर्नमा ठूलो भूमिका खेल्ने बताए । श्रेष्ठले तमू ल्होसार जस्ता सांस्कृतिक पर्वहरूको महत्त्व र युवाहरूको भूमिकाबारे चर्चा गर्दै ल्होसार जस्ता चाडपर्वहरूले हाम्रो संस्कृतिको धरोहरलाई जीवित राख्न मद्दत गर्ने बताए । यी पर्वहरूले हामीलाई हाम्रो परम्परागत मूल्य र संस्कृतिको महत्व सम्झाउँछन्। यसै कारण, युवाहरूको भूमिका यसलाई संरक्षण गर्न अत्यन्त महत्ववपूर्ण छ।“ उनले युवाहरूको सांस्कृतिक पहिचानमा भूमिका निभाउने आवश्यकता पनि बताए। “आजको पुस्ताले आफ्नो परम्परागत सम्पदा प्रति गर्व महसुस गर्नुपर्छ र यसलाई जोगाउन सक्रिय भूमिका खेल्नुपर्छ,“ उनले थपे। यसका साथै, उनले ल्होसार जस्तो पर्वलाई केवलपर्वको रूपमा मात्र नलिइ, यसलाई समाजलाई एकजुट गर्न र सहकार्यको भावना बलियो बनाउनको लागि एक अवसरको रूपमा लिन आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा मगर संघ जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष खड्काबहादुर मगर,आदिवासी जनजाति युवा महासंघ गण्डकी प्रदेशका अध्यक्ष एचबी मगर लगायतका अन्य व्यक्तिहरूले पनि तमू ल्होसारको सांस्कृतिक र सामाजिक पक्षमा आ–आफ्ना विचार राखेका थिए । उनीहरूले ल्होसारको महत्व र यसले समुदायमा ल्याउने सकारात्मक परिवर्तनहरू बारे बोल्दै, यो पर्वलाई अझ व्यापक र प्रभावकारी बनाउने प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
सोही अवसरमा दमौली स्थित रत्नहरि मेमोरियल अस्पतालले उक्त ठाँउमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । अस्पतालका डा.सञ्जय अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी प्रकाश रेग्मी, निर्मला श्रेष्ठ लगायतले शिविरमा १५० भन्दा बढी व्यक्तिहरूलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

त्यस्तै भलिबल प्रतियोगिता भने मंगलबार देखि सुरु हुनेआयोजकले जनाएको छ । प्रतियोगितामा ३२ टिमले नामदर्ता गरेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्धितिय हुनेलाई ६० हजार, तृतिय हुनेलाई ४० हजार र सान्तवना हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिईने भएको छ । कार्यक्रमका संयोजक सिद्धान्त गर्जा मगरले भने, “यो प्रतियोगिता खेलकुदको उत्सव मात्र होइन, यसले युवाहरूलाई एकजुट गर्ने र सामूहिक भावना बलियो बनाउने अवसर प्रदान गर्दछ।“ कार्यक्रम संयोजक मगरको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समारोहमा स्थानिय युवाहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
























