पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. पत्रकारिता पुरस्कारबाट भट्टराई पुरस्कृत

पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. पत्रकारिता पुरस्कारबाट भट्टराई पुरस्कृत


तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०८१ शनिवार प्रदान गरिएको छ । रेडियोको नवौं वार्षिक साधारणसभा एवम् छैटौं अधिवेशनसँगै शुनपा– ९ स्थित सुरौदी दोभानमा शनिवार आयोजित कार्यक्रममा नेपाल एफएम नेटवर्क प्रालि काठमाडौंका प्रबन्ध निर्देशक गोविन्द खडका, रेडियोका संस्थापक अध्यक्ष एवम् छनौट समितिका संयोजक नारायण कुमार श्रेष्ठ, अध्यक्ष ऋषेश्वर भुवाई ऋतु लगायतले उनीहरुलाई सम्मान गरे । पुरस्कृत हुनेहरूमा साहित्यतर्फ भिम रानाभाट (ज्यालादारी) पत्रकारितातर्फ पत्रकार प्रकाशचन्द्र भट्टराई र समाजसेवातर्फ देउ बहादुर गुरुङ रहेका छन् । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक र खोज पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति सम्मानित भएका हुन् ।
पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार–२०७९ बाट पत्रकारितातर्फ विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल सम्मानित भएका थिए । यसैगरी २०८० बाट पत्रकारितातर्फ विकास खनाल, साहित्यतर्फ सागर उदास र समाजसेवामा नन्दराज थापा सम्मानित भएका थिए ।
रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको हो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिदै आएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।


रेडियोका अध्यक्ष ऋषेश्वर भुवाईको अध्यक्षतामा भएको कार्यक्रममा शेयर धनी सदस्य वातावरणविद एकराज सिग्देल, उपाध्यक्ष सरस्वती सिग्देल, शेयर धनी सदस्यको तर्फबाट रघुनाथ पौडेल, कोषाध्यक्ष टिकाराम श्रेष्ठ लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page