दुर्घटना न्युनिकरणकाे लागि तनहुँ ट्राफिकले राख्यो राजमार्गमा संकेत बाेर्ड !
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले तीब्रगति रोक्न राजमार्गका विभिन्न ठाउँमा ट्राफिक संकेत बोर्डहरु राखेकाे छ । पछिल्लो समय राजमार्गमा दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले सक्रियता बढाउँदै संकेत बाेर्डहरू राखेको हाे ।

राजमार्गमा तीब्रगतिबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले कार्यालय मातहतको बिलमनगरदेखि दमौली बजारसम्मको सडक खण्डको बिभिन्न मोड तथा घुम्ती भएका स्थानहरुमा स्पिड लिमिटका १६ थान बाेर्डहरू राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । यस अगाडि पनि ट्राफिक प्रहरीले साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने मोटरसाइकल लाई कारबाही गर्नुका साथै ध्वनी प्रदूषण गरेर गुड्ने मोटरसाइकल , जेब्रा क्रसिङमा पार्क गर्ने, साईलेन्सर (मोडिफाई) परिवर्तन गर्ने र सिट क्षमता भन्दा बढी सिट थप्ने सवारीलाई कारबाही गरेको थियो ।

मोटरसाइकलको चर्को आवाजका कारण ध्वनी प्रदूषण भएको जनगुनासो आएपछि साइलेन्सर तथा अरू भाग परिवर्तन गरी आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गरिएको तथा तुरुन्तै अर्को फेर्न लगाइएको कार्यालयले जनाएको छ।
























