वसन्तको स्वर्णजयन्ती समारोह भव्यताका साथ मनाइने

तनहुँको व्यास नगरपालिका–११ सेरा स्थित वसन्त आधारभूत विद्यालयले स्वर्णजयन्ती भव्यताका साथ मनाउने भएको छ । यही माघ २६ गते शनिबार विभिन्न कार्यक्रमका साथ स्वर्ण जयन्ती मनाउने भएको हो ।
२०३१ साल माघ २६ गते स्थानीय शिक्षाप्रेमीहरुको अगुवाईमा विद्यालय स्थापना भएको थियो । विद्यालयका प्रधानअध्यापक माधव खनालका अनुसार स्वर्णजयन्तीको अवसरमा विद्यालयको प्रगति प्रतिवेदन, स्वर्णस्तम्भको अनावरण, स्वर्ण स्मारिककाको बिमोचन, जग्गादाता, चन्दादाता, बुद्धिजीविहरुलाई सम्मान गरिनेछ । त्यस्तै पूर्व प्रअ, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारीलाई, पूर्व विद्यार्थी समेतलाई सम्मान गरिने छ ।
उक्त अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने, अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा विजयी विद्यार्थीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । विद्यालयको आर्थिक, भौतिक र शैक्षिक अवस्था राम्रो रहेको र विद्यार्थीको संख्या बढाएर चाडै नै माध्यमिक तहको पढाइ सुरु गर्ने तयारी भईरहेको प्रअ खनालले जानकारी दिए । युवा जोश जाँगर सहितको व्यवस्थापन समिति गठन भईसेकेकाले यसपालि देखि मावि तह सञ्चालनको सम्भावना बढेको प्रअ खनालकाे भनाइ छ ।

वसन्तेपानीको पँधेरा नजिकको चौरमा वसन्तपञ्चमीको दिन स्थापना भएकोले वसन्त आधारभूत विद्यालयको रुपमा स्थापना भएको पूर्व प्रअ भैरव पन्थले जानकारी दिए । स्वर्णमहोत्सवको लागि व्यास नगरपालिकाको तर्फबाट दुई लाख, स्थानीय चन्दादाताबाट समेत गरी करीव सात लाख रुपैयाँको सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत पराजुलीले अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरी निजी विद्यालयको पढाइ भन्दा माथिल्लो स्तरको बनाउने प्रयास भइरहेको बताए । धेरै पहिला नै माध्यामिक तहको पठनपाठन भइसक्नु पर्ने थियो विविध कारणवश पुरा हुन नसकेपनि स्वर्णजयन्ती पछि अभियान चलाउने निर्णय भएको पराजुलीले बताए ।

२२ वर्षदेखि विद्यालयमा पढाउनु भएका पूर्व प्रअ मोहन पौडेलले सशक्त ढङ्गले लैजाने प्रतिबद्धता व्यक्त गरे । साथै पौडेलले बिद्यालय अहिले भौतिक रुपमा सम्पन्न भएकाे भन्दै पढ्ने भवनको अभाव नभएकोले मावि चलाउन सक्ने सम्भावना रहेको बताए । समग्र विश्लेषणमा नतिजा राम्रो भएकोले मावि चलाउन सक्षम भएको विद्यालयका सहायक प्रअ सरला वाग्ले खनालले बताइन् । शिक्षक अभिभावक संघका अध्यक्ष शारदा कुँवरले केवल शिक्षकको प्रयाशबाट मात्रै गुणस्तरीय शिक्षा नहुने हुँदा अभिभावकलाई पनि सचेत बनाएर गुणस्तर सुधार गर्दै जानुपर्ने आवश्यकता औंल्याए ।
पोल्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा पूर्व विद्यार्थी भरतराज नहर्कीले विद्यालयले स्वर्ण जयन्ती मनाउन पाउँदा आफू हर्षित भएको बताए । सेरा टोल विकास सस्थाका अध्यक्ष गोपालबहादर घर्तीले स्थानीयहरु जागरुक भएर मावि तहको कक्षा सञ्चालन हुन आवश्यकता रहेको बताए । स्वर्ण जयन्ती समारोहको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
























