व्यासकाे ल्यान्डफिल साइट जग्गा खरिद बिवाद – जग्गा खरिद नहुँदै जाँचबुझ समिति !
ब्यास नगरपालिकाले वडा नं १३ मा खरिद गर्न लागेको जग्गाको बिवाद अख्तियार देखि मन्त्रालय सम्म पुगेपछि यसले हलचल मच्चाएको छ । त्यही विवाद र उजुरीका कारण जग्गा खरिद प्रक्रिया अन्याेलमा परेको मात्रै छैन , बिगत केही दिनदेखि अनलाइन समाचार देखि सामाजिक सञ्जाल तातेकाे छ ।
संघीय मन्त्रालयमा उजुरी परेपछि गृहमन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय तनहुँलाई पत्र लेखी सत्यतथ्य बुझेर पठाउन भनिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिकास श्रेष्ठले भएको केहाे सत्यतथ्य बुझेर पठाउन प्रशासनमा पत्र आएकाे जानकारी दिए । प्रशासनले श्रेष्ठकै संयाेजकत्वमा जनप्रतिनिधि र कर्मचारी रहेको एक समिति लाई बिवाद भएको जग्गामा पुगी स्थानीय र सँदियारहरू सँग छलफल गरी बास्तबिक कुरा पठाउन भनेको बताइएको छ । त्यसाेत जग्गा खरिद नहुँदै जग्गा खरिदमा अनिमीयता भनेर अख्तियारमा उजुरी यस अगाडि नैं परिसकेको छ । अख्तियारले व्यास नगरपालिकालाई पत्र पठाइ सरसफाई केन्द्रको जग्गा खरिदमा आर्थिक अनियमितता भएको उजूरी दर्ता भएको हूंदा जग्गा खरिदसंग सम्बन्धी कागजात उपलब्ध गराउनूहून भनी पत्र पठाएको नगरपालिका श्राेतले जानकारी दियो ।
नगरपालिकाले अख्तियारलाई पत्र पठाउँदा त्यससँग सम्बन्धित कागजात , हालसम्मका निर्णयहरु राखी अनूमति मागको लागि मन्त्रालय पठाईएको र मन्त्रालयबाट स्वीकृत भै नआएकोले जग्गा खरिद प्रक्रिया अगाडि नबढेको जानकारी अख्तियारमा पठाएको समेत श्राेतले बतायो । मन्त्रालयबाट स्वीकृत भै आएपछि मात्र प्रमूख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिबाट निर्धारण भएको मूल्यमा खरिद प्रक्रिया अगाडि बढ्ने विषय समेत उल्लेख गरी पठाइएको व्यास नगर श्राेतले बतायो ।

खासगरी नगरपालिकाले फाेहाेर व्यवस्थापनकाे लागि वडा नं १३ स्थित कटन टाेलकाे बिचमा पर्ने युगिन कृषि फार्म प्रालिको नाउमा रहेको जग्गामा फाेहाेर व्यवस्थापन गर्ने भनी जग्गा खरिदका लागि प्रक्रिया अगाडि बढाएको थियो । जसका लागि ०८१ मंसिर २४ गते व्यास १३ का वडाध्यक्ष बसन्त बहादुर आले तथा अन्य जनप्रतिनिधि सहितको राेहबरमा आम भेला गरि सर्जमिन गराइ वडा कार्यालय मार्फत सम्बन्धित निकायलाई बुझाएको जनाइएको थियो ।


उक्त सर्जमिनमा व्यास नगरपालिकाले प्रस्ताव गरेको युगिन कृषि फार्मकाे स्वामित्वको जग्गामा आधुनिक सरसफाइ व्यवस्थापन केन्द्र आयाेजनाकाे लागि सँधियारहरू सँग साेधपुछ हुँदा सरसफाइ व्यवस्थापन केन्द्र आधुनिक विधि प्रविधिहरूकाे प्रयाेग गरेर अवलोकन गर्न याेग्य , नमुना र सफल आयाेजनाकाे रूपमा सञ्चालन गर्नुपर्ने , आयाेजना स्थलकाे कालिमाटी – कुकुरढुंगे माेटरमार्गलाइ कालाेपत्रे गर्नुपर्ने , उक्त क्षेत्रकाे बिकास निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने , शुन्दर , रमणीय र हरियाली पार्क निर्माण गरी उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा बिकास गर्नुपर्ने , वातावरणीय परिक्षण प्रतिवेदनका सुझावहरू पालना गर्दै वातावरणमा नकारात्मक प्रभाव पार्न नहुने गरी प्रस्तावित , आधुनिक , व्यवस्थित र नमुना सरसफाइ व्यवस्थापन केन्द्र निर्माण आयाेजना गर्न सहमति दिने भनिएको थियो ।
उक्त बिषयमा तनहुँ प्रेसमा समाचार प्रकाशित भए पछि वडाध्यक्ष आलेले आफ्नाे प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् । उनलेे सर्जमिन गर्दा कुनै बिवाद नभएको , नक्कली सही कसैको नभएको र त्यस्तो देखाउन चुनाैती समेत दिइसकेका छन् । त्यतिमात्रै हाेइन उनलेे केही कर्मचारीले गर्दा गाैरबकाे याेजना अगाडि बढ्न नसकेको , बिकास बिराेधिहरूले बिराेध गरेको र तनहुँ प्रेस डट कम समेत कसैको दानापानीमा चलेको आराेप लगाएका छन् । अध्यक्ष आलेले लेखेका छन् –
पत्रकारज्यू भनिन, भाइ नै भनें है । विकास खनाल भाइको लेख पढ्न पाइयो । एउटै पनि स्रोत खुलाइएको रहेनछ । दानापानी अनुसारको कहानी जस्तो लाग्यो । तराजुको अर्को पल्ला कहीँ कतै देखिएन । सन्तुलित भएन । जे होस्, अड्किएको विषयमा पहिलो फायर खोलिदिनुभएकोमा धन्यवाद ।
“व्यासको ल्यान्डफिल साइट जग्गा खरिद विवाद अख्तियारदेखि मन्त्रालयसम्म उजुरी” भन्ने तपाईंको हेडलाइन नै मिलेन । टाउको नै पूर्वाग्राही भएपछि शरीरको के कुरा गरौं र । सत्यताको कसीमा तपाईंको कहानीलाई १०० पूर्णाङ्कमा १० नं. दिन्छु । अब कति खण्डन गरौं र ? कमसेकम एकजना जग्गाधनी वा सँधियार वा स्थानीय वा जनप्रतिनिधि वा कर्मचारी वा नाम बताउने वा नबताउने सर्तमा एउटा सम्म स्रोत उल्लेख गर्न सक्नुभएन । त्यसैले यसलाई कहानी भनेको हो, समाचार भनेको छैन है। तपाईंकाे परिबन्ध पनि मैले बुझेको छु ।
उक्त योजना ल्यान्डफिल साइट (फोहोरलाई जमिनमा गाड्ने), डम्पिङ साइट (फोहोरलाई थुपार्ने) होइन, सूक्ष्म सरसफाई वर्गीकरण (फोहोरलाई छुट्याउने) केन्द्र हो । छोटकरीमा सरसफाई केन्द्र भन्न सकिएला । त्यस केन्द्रमा गएका ९५% सामग्रीहरू सुक्ष्म वर्गीकरण गरी, केही तहको प्रशोधन गरेर बिक्री गरिनेछ । यो 3R (Reduce, Recycle, Reuse) काे आधुनिक मोडेलमा सञ्चालन हुने हो, धनगढीको जस्तै । कति वर्ष भयो व्यास नगरपालिका भएको ? सरसफाई व्यवस्थापन केन्द्र नभएको नगरपालिका शौचालय नभएको घरजस्तै हो । हामी कस्तो घरमा बसिरहेका छौं ? शौचालय चाहिने कसलाई हो ?
मलाई आदरणीय स्वः पुरुषोत्तम काफ्ले बुबाले एक दिन सम्झाउँदै भन्नुभएको कुरा याद आयोः “बाबु बसन्त, तिमी सधैं नदीको उल्टो धारमा हिँड्छौ ।” आज पनि मेरो बानी उस्तै छ । ठिक लागे समर्थन गर्छु, बेठीक लागे गर्दिन । हाम्रो समाजमा यस्तो मान्छे उल्टै देखिन्छ ।
घटना नं. १ः सरसफाई जग्गा व्यवस्थापन समितिकाे संयोजकमा चयन भएको थिएँ । एकजना वरिष्ठ अधिकृतज्यू, जसलाई म दाइ भन्छु, उहाँले भन्नुभयोः यो संयोजक बसेर कुनै काम छैन । यो काम तिम्रो कार्यकालमा सम्भव छैन । म उल्टो धारतिर गएँ ।
घटना नं. २ः जग्गा प्राप्ति (खरिद)को कुरा चलिरहेको थियो । एकजना स्थानीय नेताज्यूले भन्नुभयोः “बसन्तजी त्यहाँ त सरसफाई केन्द्र बनाउने होइन, त्यहाँ त ४० रोपनीमा ४० वटा घर बनाउने हो । बरु तपाईँलाई पनि पार्टनर राख्छौं । नभए एक रोपनी तपाईँलाई पनि आउँछ । म उल्टो धारतिर गएँ ।
घटना नं. ३ः जग्गा प्राप्ति (खरिद) गर्ने निर्णयकाे मसी सुक्न पनि पाएको थिएन, अख्तियारबाट चिठी आएको छ भनेर देखाउनुभयो । आफै डाक्टर आफै बिरामी । एक पाइला नचाल्दै तँ किन दौडिएको ? भने जस्तो लाग्यो । म उल्टो धारतिरै गएँ ।
घटना नं. ४ः “कुहिने फोहोर अन्यत्रै व्यवस्थापन भैरहेकाे छ, १३ मा होइन” भन्ने व्यास १३का जनप्रतिनिधिहरूको अडान र केही वरिष्ठ कर्मचारीले “कुहिनेपनि लैजाने भनेर नलेख्ने भए हामी साइन गर्दैनौं” भनेपछि कर्मचारीकै दबाबमा त्यो लेखियो र कर्मचारी टोलमा गएर आफै यस्तो लेखिएको छ, विरोध गर्नुपर्छ भनेर भाषण गरे । आफै धामी आफै बोक्सी । त्यसैले म उल्टो धारतिरै गएँ ।
घटना नं. ५ः हामी मन्त्रालय गयौँ । “यो फाइल आएको दुई वर्ष भयो । आजसम्म कुनै कर्मचारीले फलोअप गरेको छैन ।” मन्त्रालयका कर्मचारीको प्रश्न थियो: “यो तपाईहरु व्यक्तिलाई चाहिएको हो कि व्यास नगरपालिकालाई ?” व्यास नगरपालिकामा कर्मचारी छैनन् ? निर्णय कार्यान्वयनका लागि कारिन्दाहरू घाम ताप्ने र जनप्रतिनिधि नै धाउनुपर्ने तितो सत्य बीच मैले उल्टो धार रोजेँ ।
घटना नं. ६ः सँधियारहरूको सहमतिको सर्जमिन म वडाध्यक्षको प्रत्यक्ष उपस्थितिमा भएको हो । दलबहादुर थापासँग भने सम्पर्क हुन सकेन । यद्यपि सँधियारमा उहाँको नाम र कित्ता नं. त उल्लेख गर्नै पर्यो, हस्ताक्षर छैन । अरु सबै सँधियारको सहीछाप म आफै वडाध्यक्षको रोहबरमा गराइएको हो । झुठा वा नक्कली प्रमाणित गर्ने चुनौती दिन्छु । झुठा भए सजाय भोग्न पनि तयार छु । सरसफाई केन्द्रको आयोजनासँगै सडक बन्छ, पार्क बन्छ, बजेट बढ्छ, विकास बढ्छ, पर्यटन बढ्छ, आधुनिक हुन्छ, व्यवस्थित हुन्छ, सूक्ष्म वर्गीकरण हुन्छ, जथाभावी फोहोर हुँदैन भनेकै हो । के लेखेको छ भनेर पढेर सुनाइएकै हो । एक वर्ष भयो व्यास नगरपालिकाले वर्गीकरणको काम सानो नमुनाका रूपमा नगरपालिकाकै कम्पाउन्ड भित्र गरेको तर वरिपरिको कुनै दोकानहरूले गनायो भनेको छैन । त्यहीँ दिनदिनै ब्याडमिन्टन खेलिन्छ, कसैले गनायो भनेको छैन । तर यहाँ काम सुरु नहुँदै गनाउन थालेकाे छ। म गनाउने बाटो हिँड्न सकिन, मैले उल्टो धार रोजेँ ।
घटना नं. ७: व्यास १३मा आधुनिक सरसफाई व्यवस्थापन सम्बन्धी देशकै सफल सरसफाई परामर्शदाता आदरणीय कृष्ण भण्डारीज्यूबाट राजनीतिक दल, विद्यालय, टोल विकास संस्था, सामुदायिक वन, युवा क्लब, महिला समूह, बौद्धिक सामाजिक व्यक्तित्वहरू गरी सातवटा प्रशिक्षणहरू भए । भित्र अति प्रभावकारी प्रशिक्षण हुँदै थियो, कोही सहभागी प्रशिक्षार्थी विपक्षमा थिएनन् तर हल बाहिर बसेर तत्कालीन सरसफाई शाखा प्रमुख कर्मचारीबाट यो हुँदैन भन्दै भड्काउने काम भइरहेको थियो । त्यही संस्थामा, त्यही शाखामा नोकरी गर्ने त्यही शाखा प्रमुखले नुनको सोझो समेत नगर्ने प्रवृत्तिको बाटो म हिँड्न सकिन, त्यसैले मैले उल्टो धार रोजेँ ।
घटना नं. ८: वालिङ, धनगढी लगायत देशका दर्जनौं नमुना सरसफाई केन्द्रका सफल परामर्शदाता प्रशिक्षक आदरणीय कृष्ण भण्डारीज्यूलाई व्यास नगरपालिकामा परामर्शदाताका रूपमा विशेष अनुरोधमा नियुक्ति गरियो । उहाँको प्रशिक्षण र कामबाट सारा नगरवासी प्रशिक्षार्थी खुसी भए तर कर्मचारी खुसी देखिएनन् । नगरपालिकामै सबैभन्दा धेरै तलब खाने परामर्शदाताकाे नगरपालिकाभित्र एउटा बस्ने कुर्सी र टेबल पनि देख्न पाइएन । उहाँको करियरमै सम्भवतः पहिलोपटक उहाँ सरसफाई व्यवस्थापनको काम पूर्ण रूपमा सम्पन्न गर्न नसकी बिदाई हुनुभयो । कारण सबैलाई प्रष्ट भयो होला । म अपमान, तिरस्कार र तदर्थवादको बाटो हिँड्न सकिन । त्यसैले मैले उल्टो धार रोजेँ ।
मलाई थाहा छ, यसका पछाडि यसलाई असफल पार्न ठूलो गिराेह लागेको छ । कोही सस्तोमा जग्गा हत्याएर महँगोमा बेच्न चाहन्छ, कोही घर बनाएर बेच्न चाहन्छ, कोही ठूलै कमिसन चाहन्छ, कोही राजनीतिक प्रतिशोध र कुण्ठा साँध्न चाहन्छ, कसैलाई अर्को चुनाव सम्म फोहोरको एजेन्डा सकिने भयो भन्ने चिन्ता छ । म ढुक्क छु । साक्षी छन्, प्रमाण छन् । बिचरा सोझा जनतालाई मोहोरा बनाइएको मात्रै हो । म जनतालाई दोषी देख्दिन। मलाई तिनै जनताले जिताएका होइनन् ? फेरि पनि मलाई जनता चाहिँदैनन् र ? मलाई स्वच्छ वातावरण चाहिँदैन र ? उक्त योजनाको वातावरणीय परीक्षण प्रतिवेदन अहिलेसम्म कसैले अध्ययन गर्नुभएको छ ? नबिराउने, नडराउने र नतिजा देखाउने हाम्रो अभियान हो । बुझ्नेलाई इशारा काफी छ, नबुझ्नेलाई बुझाउनै बाँकी छ । केही गल्ती भए माफ पाउँ । यो अवसर दिनुभएकोमा विकास भाइलाई पुनः धन्यवाद ।

गत मंसिर २४ गते अध्यक्ष आलेकाे राेहबरमा भएको सर्जमीन मुचुल्का गरेकाे केही दिनमै उक्त स्थानका मानिसहरू जम्मा भेला भइ उक्त कार्य प्रति असहमति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुस २८ गते उजुरी हालेपछि याे बिषय अन्याेलमा परेको हाे ।
स्थानीयले मन्त्रालयमा पत्र दर्ता गराउँदै उक्त ठाउँमा सुरुमा नगरपालिकाले नकुहिने फाेहाेर मात्रै पठाउने भनेकोमा पछि झुक्याएर कुहिने पनि शब्द थपेको भन्दै वास्तविक सँधियार र टाेलबासीलाइ थाहा नदिइ झुक्याएर सही गरेर लगेको बताएका छन् । उनिहरूले प्रभावित क्षेत्र भन्दा बाहिरका मानिससँग सर्जमिन गराएको , मानिसका घर घरमा गई बाटो पिच गराउन उपभोक्ता समिति गठन हाे भनी झुक्याएर लगेको , साध नजाेडिएका व्यक्तिहरूलाइ सहि गराएको लगायतका नक्कली काम र मुचुल्का गरि लगेको हुँदा उजुरी हाल्न परेको बताएका छन् । उक्त उजुरीमा टाेलकाे छाप समेत हानिएको छ ।
यस्ताे अवस्थामा फाेहाेर व्यवस्थापन कार्य अगाडि बढाएमा कडा कदम चालिने र त्यहाँ फाेहाेर लान नदिइने समेत उनिहरूले बताएका छन् ।
























